छुईगोठ मुक्त गर्ने अभियानमा जुम्लाका महिला


मानदत्त रावल,

जुम्ला ः परम्परा देखि समाज जगडिएको सामाजिक कुसस्कारका रुपमा समाजमा विकास भएको छुईप्रथालाई समाजबाट मुक्त गर्ने अभियानमा जुम्लाका महिलाहरु जुटेका छन् । स्थानीय सरकार तथा सामाजिक संघसंस्थाले महिलाहरुमा चेतना जगाएपछि उनीहरु अहिले गाउँगाउँका महिला छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका हुन् ।


बुधबार महिला तथा सरोकारवाला निकायहरुले हिमा गाउँपालिका – ६ महावैपाथरखोला गाउँमा एक औपचारिक कार्यक्रम गरी छुई अर्थात महिनाबारी भएको अवस्थामा छुईगोठमा नबस्ने भन्दै सामुहिक रुपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी छुईगोठ मुक्त गाउँ घोषणा गएको छ । हिमा गाउँपालिकाको आयोजना तथा एक्सन वक्स नेपाल, जुम्ला र किर्डाक नेपाल, जुम्लाको आयोजनामा छुईगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।


हिमा गाउँपालिकाका प्रमुख रजबहादुर शाहीका अनुसार महिला र धामीझाक्रीलाई सचेतीकरण गर्दै समाजमा सामाजिक रुपमा कुसंस्कारका रुपमा रहेको छुईप्रथालाई गाउँबस्ती हुदै गाउँपालिकालाई नै छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका छौँ । उनले भने पछिल्लो समयमा महिला र धामीझाक्री पनि यस मुद्दामा सक्रिय रुपमा लागी परेकाले छुईप्रथालाई अन्त्य गर्न सकिने अपेक्षा गरिएको छ ।
महावैपाथरखोला गाउँका धामीझाक्री चक्रबहादुर शाहीले देविदेवताले महिला छुई अर्थात महिनाबारी भएको अवस्थामा छुईगोठमा बस्नु पर्दछ भनेका छैन् । उनले भने महिनावारी भएको अवस्थामा मन्दिर भित्र नजाउ, धामीझाक्रीलाई नछुअ तर पोषणयुक्त खाना खाएर सरसफाई गरेर घरभित्रै बस्दा फरक पदैन । हिमा गाउँपालिका – ६ महाबैपाथरखोलाका दुई सय ८४ घर घरधुरीमा एक हजार ९ सय ३३ जना महिला र एक हजार ८ सय ६ जना पुरुष रहेका छन् ।
जुम्लाका १२ गाउँबस्ती छुईगोठ मुक्त
जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका २ सय १८ गाउँबस्ती मध्ये १२ गाउँबस्ती छुईगोठ मुक्त भएका छन् । तातोपानी गाउँपालिका, लाम्रा, श्रीनगर, हियाखोला, वाँईराँका र जैतपुर गाउँलाई यसअघि नै छुईगोठ मुक्त भईसकेका छन् । त्यसैगरी तिला गाउँपालिकाको ढिमकोट, रावतवाडा, ज्योगीवाडा र खोप्री गाउँँलाई छुईगोठ मुक्त घोषणा गरिएको छ । पातारासी गाउँपालिकाको माथिल्होर्प र तलिल्होर्प गाउँ पनि छुईगोठ मुक्त गरिएको छ । हिमा गाउँपालिकाको महाबैपाथरखोला गाउँलाई १२ औँ गाउँको रुपमा बुधबार छुईगोठ मुक्त घोषणा गरिएको हो ।
पछिल्लो समयमा स्थानीय सरकार गाउँ तथा वडापालिका, विभिन्न महिला समुह, संजाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन वक्स जस्ता गैरसरकारी संस्थाले जनचेतनाकै कारण अन्ध विश्वास न्यूनिकरण हुदै गएको महाबैपाथरखोला गाउँका स्थानीय जंगबहादुर खत्रीले बताए ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार अहिले तिला गाउँपालिका ३ गाउँबस्ती छुईगोठ मुक्त गर्न सफल भएका छौँ, यस्ता कार्यलाई निरन्तरता दिने गाउँपालिकालाई नै छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका छौँ ।
पुरानो अन्धविश्वासले महिलाको ज्यान जोखिममा रह्र्यो, सरकारले छुईपडी निर्देशिका २०६४ ल्याएपछि यसको कार्यान्वयन स्वरुप घोषणका कार्यक्रम भईरहेका छन् ।

तपाईको प्रतिक्रिया