नन्दराम जैसी,
जुम्ला । तिहारको सुरुवातसँगै जिल्लामा देउसी भैलोको रौनक पनि सुरु भएको छ । जिल्ला सदरमुकाम खलंगादेखि गाउँ गाँउसम्म विभिन्न समूह बनाएर देउसीभैलो खेल्न शुरु गरीएको हो । आ आफ्नो गाँउठाँउको विकासका लागि सहयोग जुटाउने उदेश्यले देउसीभैलोमा यँहाका बालबालिकादेखि युवायुवतीहरु समेत झुमिरहेका छन् । जुम्ला पुगेर आईतबारदेखि देउसी खेल्न शुरु गरेका कालिकोट महाबै गाँउपालिका २ का युवायुवतिहरुले गाँउ विकास गर्न देउसी खेलेर सहयोग जुटाईरहेको बताए । देउसी टोलीका अगुवा अनिल सिंहले देउसीबाट संकलन भएका ७० प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने उद्घोष गरे ।
‘गाँउमा कोही बिरामि पर्दा स्टेक्चर छैन, स्थास्थ्य चौकिमा सिटामोल हुन्न, शुद्ध खानेपानीको कुरै नगरौ’ उनले भने, ‘स्थानिय सरकार आएको गाँउलेलाई अनुभुति छैन, पुराना समस्या ज्युँका त्युँ छन्, सडक बनाएर धुलो उडाउँदै हामीलाई उल्टै सास्ती दिने सरकारलाई देउसी खेलेको रकम सहयोग गर्नेछौ ।’ यस्तै सामाजिक सेवाका नाममा जुम्ला तातोपानी गाँउपालिकाका युवा युवतिहरु पनि देउसी खेल्न थालेका छन् ।
परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जगेर्नासँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलनको प्रभावकारी माध्यम पनि बन्दै गएको छ । तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढ्दै गएको छ ।
विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको भन्दै बूढापाकाले चिन्ता प्रकट गरेका छन् । पछिल्लो समय रेकर्ड भएका गीत, संगितको प्रभाव ह्वात्तै बढेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको हो । कला संस्कृतिकै जगेर्नाका लागि देउसीभैलो खेलिएपनि मौलिकता जोगाउनै मुश्किल परेकोे संस्कृतविद रमानन्द आचार्यले बताए ।