रणवीर बूढाको परिवार त प्रतिनिधि पात्र मात्रै हो । स्थानीय तहले निर्माण गरेको अव्यवस्थित सडकका कारण जर्मी गाउँको बस्ती जोखिममा छ । तातोपानी गाउँपालिका– २ को जर्मीगाउँमा खनिएको सडक अव्यस्थित हुँदा झन्डै १२ घर परिवार जोखिममा छन् । बस्तीमाथिको सकडबाट आउने ढुंगा माटोको त्रासमा छन्, स्थानीय । डोजरले ढुंगा र मोटो जथाभावी फालेकाले जतिवेला पनि खस्ने गरेको छ । सुरक्षा चुनौती भएपछि स्थानीयले तटबन्ध निर्माण गर्न गाउँपालिकासँग माग गरेका छन् ।
असरका विषयमा अध्ययन नै नगरी सडक खनिएका कारण बस्ती जोखिममा परेको स्थानीय नरबहादुर बूढाले बताए । ‘झन्डै एक दर्जन बढि घरपरिवार अव्यवस्थित सडकको जोखिममा छन् । भिरालो पाखोमा रहेका घरमाथिबाट खनिएको सडकले विकासभन्दा दीर्घकालीन विनाश अपनाएको छ,’ उनले भने, ‘सडक खन्दा हामीलाई एकपटक पनि सोधिएन ।’ गाउँपालिकालाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको अर्का स्थानीय कृष्ण डाँगीले बताए । उनी भन्छन्, ‘सडक निर्माणपश्चात् वर्षा हुँदा बगेर आएको माटोले घरै भरियो, न रातमा निद्रा न दिनमा भोक लाग्छ । घर बचाउन वडादेखि गाउँपालिकामा गुहार माग्दा कुनै सुनुवाइ भएन ।’
तटबन्ध निर्माण गर्छौँ : गाउँपालिका उपाध्यक्ष
गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्ययले सडकका करण बस्ती जोखिममा परे तटबन्ध निर्माण गरिने बताउँछिन् । अनुगमन गरी आवश्यकताका आधारमा तटबन्ध निर्माण गर्ने र सडकलाई निश्चित विन्दुमा पु-याउने गाउँपालिकाको योजना रहेको उनले बताइन् । क्रमागत रूपमा बजेट विनियोजन गरी सडक सञ्जालमा गाउँलाई जोड्ने अभियान सफल पार्ने उनको भनाइ छ ।
निर्माण समितिद्वारा कमजोरी स्वीकार
सडक निर्माण समितिका अध्यक्ष नरेन्द्र बूढाका अनुसार ४० लाखको लागतमा सडक निर्माण गरिएको छ । उनले भने, ‘सामाजिक विकासका लागि जोसुकैले जग्गा दिने निर्णयअनुसार सडक निर्माण गरिएको हो ।’ तर, जग्गावालालाई नसोध्नु कमजोरी भएको उनले स्वीकारे ।
कर्णाली राजमार्गबाट जोडेर तातोपानी–२ स्थित वनमा पुराउने सडक अहिले अधुरै छ । ४० लाखमा झन्डै ६/७ किलोमिटर मात्रै निर्माण भएको छ भने कुनै अध्ययनविना सडक निर्माण गरिएको भन्दै आलोचना पनि भइरहेको छ । झन्डै १५० घरधुरी रहेको उक्त गाउँमा आवश्यकताविनाको सडक खनिएको स्थानीय बताउँछन् ।