न्याय माग्‍ने थिति बस्दै

सुर्खेत । प्राविधिक शिक्षा दिलाउने प्रलोभनमा गत वर्ष एक किशोरी आफन्तबाटै सामूहिक बलात्कारको सिकार भइन्। काठमाडौंको एक होटलमा बन्धक बनाई तीन दिनसम्म सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भयो। बलात्कारमा संलग्न तीन जना पक्राउ पनि परे तर पीडितले न्याय पाउन भने सकिनन्। गोठीचौर गाउँपालिकाकी ती किशोरीका घरपरिवार र समाज सबैले बहिष्कार गरे। उनले न्यायका लागि अपिल गरिरहिन्। गाउँमा मिलाउन खोज्दा घटना सार्वजनिक गरेको भन्दै गाउँलेले उनको परिवारले छोएको खाँदैनन्। राजधानीको पुनःस्थापना गृहमा बसेर उनले आफूमाथि भएको अन्यायविरुद्ध लड्ने बताउँदै आएकी छन् ।

यस्तै, मध्यसाउनमा खाद्यान्न पिस्न पानीघट्ट गएकी किशोरीले अस्मिता लुटाउनुप¥यो। पिठो पिसेर भोलिपल्ट घर फर्किने आशामा घट्टमा बसेकी उनलाई तातोपानी गाउँपालिकाका तीन जना युवाले जबर्जस्ती बलात्कार गरे। एक्लै भएकाले तीन जनाविरुद्ध प्रतिकार गर्न सकिनन्। पीडकहरूले ज्यान मार्ने धम्की दिएकैले आफूमाथि परेको अन्याय सार्वजनिक गर्ने आँट गरिनन्। ती युवा खुलेआम घुमिरहेका छन्। कक्षा १० मा पढ्दै गर्दा भएको घटनाका कारण अहिले पनि उनी विक्षिप्त बनेकी छन् ।

बलात्कार हुनेबित्तिकै बिहे गराउने वा रकम लेनदेनमा मिलाउने प्रचलन बढ्दो छ। केही वर्षयताको तथ्यांक हेर्दा न्यायालयमा धाउने पीडितको संख्या उलेख्य छ। देशमा भएका बलात्कारका घटना र तिनको न्यायका लागि हुने संघर्षको प्रभावकै कारण गाउँघरमा हुने यौन हिंसाका कुरा प्रहरी र अदालतसम्म पुग्ने गरेका छन्। साताअघि जुम्लामा एकैदिन तीन वटा बलात्कारका घटना भए। गाउँघरमा मिलाउने कोसिस भएपछि पीडितले न्यायका लागि प्रहरीसमक्ष आउन धेरै संघर्ष गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताए ।

‘अहिले पनि बलात्कारजस्तो घटनालाई सामान्य भन्दै गाउँमा मिलाउने प्रयास गरिन्छ तर त्यसको गम्भीर असर पीडितमा जीवनभर परिरहन्छ’, उनले भने। अशिक्षा, गरिबी र बलात्कारजस्तो जघन्य अपराधलाई गाउँघरमा सामान्यीकरण गरिँदा पीडितले सामाजिक मानका नाममा पीडा दबाउनुपर्ने बाध्यता थियो। तर, अहिले सचेतनासँगै यौन हिंसा अपराध नै हो भन्ने बुझाइका कारण पनि पीडित प्रहरी र अदालतसमक्ष पुग्न थालेको रिजालले बताए ।

कर्णालीका १० जिल्लामा गत आर्थिक वर्षमा ५९ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका थिए भने यस आर्थिक वर्षको चार महिनामा ४४ वटा घटना प्रहरीसमक्ष पुगेका छन्। ‘अहिले तथ्यांकमा निकै वृद्धि भएको छ, यसको मतलव विगतमा हुँदैनथे भन्ने होइन’, प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी मोहनविक्रम आचार्यले भने, ‘घटनामा मात्र नभई सचेतनामा पनि वृद्धि भएको छ, यौन हिंसाजस्तो अपराध लुकाउनु हुँदैन भन्ने मान्यता स्थापित भएको छ । ’

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष सबैभन्दा धेरै सुर्खेतमा बलात्कारका घटना दर्ता भएका छन्। सुर्खेतमा २४, जुम्लामा ५, पश्चिम रुकुम र कालिकोटमा ४÷४ घटना दर्ता भएका छन्। यस्तै, जाजरकोटमा ३, सल्यानमा २ र दैलेख २ वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

बलात्कारका घटनामा प्रहरीले पनि प्रमाण संकलनदेखि अभियुक्त पक्राउ गर्ने कार्यमा अन्य अपराधभन्दा बढी प्राथमिकता दिने गरेको एसएसपी आचार्य बताउँछन्। न्यायका लागि आउने पीडितको संख्या उल्लेख्य भए पनि घटनापछि पीडितको सुरक्षाको ग्यारेन्टी नहुँदा न्याय पाउनु अझै कठिन हुने पीडित बताउँछन् । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस