देउसी खेलेर काठेपुल निर्माण


नन्दराम जैसी,
जुम्ला । जिल्लाको गुठिचौर गाँउपालिका ५ फोइ र कुम्डि गाँउका स्थानियले देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगानि गरेका छन् । दुबै गाँउका जेष्ठनागरीक र युवाहरु मिलेर तिहारको अवसरमा दुईदिन खेलिएको देउसीबाट संकलन भएको ६२ हजार रकम काठेपुल निर्माणमा खर्च गरीएको हो । जिल्लाका अधिकांश युवायुवतिहरुले देउसी खेलेर संकलन गरेको लाखौ रकम भोज, भतेर गरेर खर्च गरीरहेको बेला गुठिचौर ५ का स्थानियले देउसीको रकम पुल निर्माणमा खर्च गरेर नमुना काम गरेका हुन् । गुठिचौर ५ को ढाँड चिमानी खोलामा बनेको काठेपुल निर्माण गर्न करीब एक सय ५० जनाबढि कामदार लागेका छन् ।

‘ढाँड चिमानी खोलामा भरपर्दो पुल नभएपछि मानिसलाई मात्र होईन, पशुबस्तुलाई समेत आउजाउ गर्न सकस थियो’ समाजसेवि तथा युवा अगुवा मयादत्त आचार्यले भने, ‘आवाश्यकतालाई मध्यनजर गर्दै देउसीको रकम त्यसैमा खर्च गर्ने सर्बसम्मत निर्णय भएपछि सहजै पुल बनायौँ ।’ सो स्थानमा काठेपुल निर्माण गर्दा सबैको सल्लाह र सहमतिमा खोला वरीपरीको ढुंगा र सामुदायिक बनको काठ प्रयोग गरीएको छ ।

स्थानिय महिला राधिका चौलागाईले भनिन्, ‘बर्षाको भेल र हिउँदको चिसोले खोला तर्न सकिँदैन थ्यो, त्यसैमा बन तथा पाखो बारीबाट अन्नपात, काठदाउरा, स्याउलासोत्तर ल्याएर आँउदा झनै सकस हुन्थ्यो ।’ उनका अनुसार खोलामा काठेपुल बनेपछि गाँउका महिलाहरुलाई गहौँ भारी बोकेर आउजाउ गर्न सहज हुने भएको छ । पुल बनेपछि सबै स्थानिय खुसि भएका छन् । भने सहरायिन कामका लागि सरोकारवाला निकायले प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया