फुजि स्याउमा कृषकको आकर्षण ६ लाख विरुवा माग


नन्दराम जैसी,

जुम्ला । स्याउ फल्ने अधिकांश हिमालि जिल्लाहरुमा यतिखेर स्याउका नँया विरुवा लगाउने तयारी भैरहेको छ । पुस, माग महिनाभित्र विरुवा लगाईसक्ने गरी कृषकहरुले मंसिरदेखिनै बगैचा ब्यवस्थापन गरीरहेका छन् । नँया विरुवाका लागि खाल्डा खन्ने, बगैचामा मल, जल तथा घेरवारको ब्यवस्थापन गर्ने लगाएतका कार्य भैरहेका हुन् । तर कृषकहरु पछिल्लो समय नँया स्याउ विरुवाका लागि स्वदेशमा पाईने स्थानिय जातको विरुवा भन्दा विदेशबाट आयात गर्नुपर्ने फुजि स्याउ तर्फ आकर्षित भएका छन् । पहिले नेपालमै पाईने विभिन्न जातको स्याउ विरुवा लगाउँदै आएका कृषकहरु अहिले विदेशबाट विरुवा माग गर्न थालेका हुन् ।

यस बर्ष स्याउ फल्ने हिमालि जिल्लाहरुमध्य चार जिल्लामा मात्र करीब ६ लाख फुजि स्याउको विरुवा विदेशबाट माग भएको छ । ईटाली र स्पेन लगाएतका देशबाट नेपालमा आईपुग्ने फुजि विरुवा नेपालमा पाईने विरुवा भन्दा १० गुणा महंगो पर्छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना ब्यवस्थापन ईकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारी अनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करीब ६ लाख फुजि विरुवा माग भएको हो । जसमा जुम्लाका कृषकहरुले तिन लाख, ११ हजार, चार सय २२ फुजि विरुवा माग गरेका छन् । त्यस्तै कालिकोटका कृषकले एक लाख, १६ हजार, पाँच सय, मनाङका कृषकले एक लाख, ३१ हजार, ६ सय र मुस्ताङमा १५ हजार, पाँच सय फुजि विरुवा माग भएको छ ।

७० प्रतिशत अनुदान
सघन स्याउ रोप्नका लागि विरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रम अन्र्तगत फुजि विरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन् । भने बाँकि ३० प्रतिशत कृषकको लगानी रहनेछ । बरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले भने, ‘विरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रति विरुवा कृषकलाई चार सय २५ रुपैयासम्म पर्नसक्छ ।’ विश्व बजारमा राम्रो संभावना भएको र नेपालमा पनि फुजि स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन बृद्धि गर्न अनुदानमा विरुवा वितरण गर्न लागिएको उनले बताए । नेपालमा अहिले अन्य स्याउको भन्दा फुजि स्याउ तेब्बर बढि मुल्यमा बिक्रि भैरहेको छ । अनुदानमा आउने फुजि विरुवा कृषकको माग अनुसार प्राप्त गर्न संभव नभएको स्याउ सुपरजोनले जनाएको छ । यसले गर्दा विरुवा वितरणमा भने निकै सकस हुने देखिन्छ ।

१४ हजार वगैचा
जुम्लामा मात्र १४ हजार स्याउ वगैचा स्थापना भएको तथ्यांक छ । जिल्लाका कुल १८ हजार घरधुरीमध्य करीब १४ हजार घरमा स्याउ वगैचा स्थापना भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । अहिले जिल्लाको कुल ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेति भैरहेको छ । भने अँझै हरेक बर्ष स्याउ खेति विस्तार हुँदैछ । गत बर्ष र यस बर्ष गरी जिल्लामा स्याउबाट ३४ करोड बढि रकम भित्रिएको छ । स्थानिय तहहरुका अनुसार अबको चार बर्ष भित्र स्याउ खेतिका लागि जमिन भएका जिल्लाका १८ हजार घरधुरीमा नै स्याउ बगैचा स्थापना हुनेछन् । हरेक बर्ष कृषकहरुले बगैचा ब्यवस्थापन तथा स्याउ उत्पादन सम्बन्धि प्रयाप्त ज्ञान, सिप तथा सामाग्रि पाईरहेका छन् । तर त्यसलाई ब्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ । हरेक बर्ष स्याउका विरुवा बढ्दै छन् । तर विरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको छ । गत बर्ष भन्दा यस बर्ष जिल्लामा करीब चार हजार फल दिने विरुवा बढेपछि उत्पादन भने गत बर्ष बराबरनै भयो ।

तपाईको प्रतिक्रिया