मुगुको एक विद्यालयमा पाँच शिक्षक, पाँच विद्यार्थी


मुगु । मुगुमकार्मारोङ गाउँपालिकास्थित लामा समुदायका अधिकांश विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात बराबरी रहेको पाइएको छ।प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले लामा समुदायका १७ मध्ये १४ विद्यालयमा अनुगमन गरेको थियो। खारी गाउँमा १३ घरधुरीका १० जना बालबालिका राष्ट्रिय प्राथमिक विद्यालयमा भर्ना भए पनि ५ जना मात्रै नियमित विद्यालय जाने गरेका छन्।

विद्यालयमा दुई शिक्षक, एक शिक्षिका र एक जना बालविकास सहजकर्ताका साथै मातृभाषाका लागि गाउँपालिकाले एक शिक्षक नियुक्त गरे पनि विद्यार्थीले नेपालीमा आफ्नो नामसमेत लेख्न नजानेको अनुगमन टोलीले बताएको छ।

टोलीका सदस्य एवं कोष तथा लेखा नियन्त्रक धनप्रसाद शर्माका अनुसार सोही वडाको ताखास्थित प्राथमिक विद्यालयमा पनि भर्ना रेकर्डमा १८ विद्यार्थी छन् तर ८ जना मात्र नियमित विद्यालय आउँछन्। यस विद्यालयमा पनि ५ शिक्षक छन्।

हिमाली क्षेत्रका विद्यालयमा प्रतिशिक्षक ४० विद्यार्थीको अनुपात शिक्षा नियामवलीमा उल्लेख भए पनि मुगुमकार्मारोङ गाउँपालिकाको लामा बस्तीका सबै विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात बराबर पाइएको छ। तर, विद्यार्थीको पढाइ भने सन्तोषजनक छैन। विद्यालय जाने उमेरका बालबालिकालाई धार्मिक शिक्षा पढाउन अन्यत्रै लैजाने गरेकाले विद्यार्थीको अनुपात घटेको जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख सूर्यबहादुर खत्रीले बताए।

शिक्षक पनि पालो गरेर विद्यालय आउने गर्छन्। गाउँमै विद्यालय भए पनि आयस्रोत मजबुत भएका अभिभावक बालबालिकालाई सदरमुकाममा पढाउँछन्। न्यून आयस्रोत भएकाहरू बालबालिकालाई पशुचौपाया हेर्न जंगल पठाउँछन्। ‘गाउँमा विद्यालय भए पनि के गर्नु ? सधैँ बन्द हुन्छ’, स्थानीयले भने।

बाध्य भएर बालबालिकालाई आनी र चुम्मा पढाउनुपरेको उनीहरूको गुनासो छ। पढाइको अवस्था हेर्दा शिक्षक÷अभिभावकको जिम्मेवारी नपाइएकाले अनुगमनको प्रतिवेदनअनुसार शिक्षकलाई कारबाही गरिने अनुगमन टोलीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। अन्नपुर्णपोष्टबाट

तपाईको प्रतिक्रिया