छुईगोठ मुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि


जुम्ला ः परम्परा देखि समाज जगडिएको सामाजिक कुसस्कारका रुपमा समाजमा विकास भएको छुईप्रथालाई समाजबाट मुक्त गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् । स्थानीय सरकार तथा सामाजिक संघसंस्थाले महिला तथा धामीझाक्रीमा चेतना जगाएपछि उनीहरु अहिले गाउँगाउँमा छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका हुन् ।


शुक्रबार महिला तथा सरोकारवाला निकायहरुले तिला गाउँपालिका – ८ पुरुगाउँलाई छुईगोठ मुक्त गरिएको छ । तिला गाउँपालिकाको आयोजना तथा एक्सन वक्स नेपाल, जुम्लाको समन्वयमा छुई अर्थात महिनाबारी भएको अवस्थामा छुईगोठमा नबस्ने भन्दै सामुहिक रुपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी छुईगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।
तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीका अनुसार महिला र धामीझाक्रीलाई सचेतीकरण गर्दै समाजमा सामाजिक रुपमा कुसंस्कारका रुपमा रहेको छुईप्रथालाई गाउँबस्ती हुदै गाउँपालिकालाई नै छुईगोठ मुक्त गर्ने अभियानमा जुटेका छौँ । यो अभियानमा निरन्तर लागीपर्ने उनले प्रतिबद्धता गरे । यो अभियान कुनै धामीझाक्रीका विरुद्ध होइन केवल महिलाको स्वास्थ्य र पोषण युक्त खाना आएर सामासिक तथा मानसिक हिंसाबाट बचाउने अभियान हो यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनको भनाई रहेको छ ।
तिला गाउँपालिका – ८ पुरु गाउँसहित ९ गाउँलाई छुईगोठ मुक्त गरिएको वडाध्यक्ष सन्तविर रावतले बताए । उनले भने हामी गाउँपालिकालाई छुईगोठ मुक्त गरी सव्य नागरिकको पहिचान दिने अभियानमा छौँ । पुरु गाउँका एक सय १९ घर घरधुरीमा तीन सय ८५ महिला र चार सय पाँच जना पुरुष गरी सात सय ९० जना रहेका छन् ।


जुम्लाका १७ गाउँबस्ती छुईगोठ मुक्त
जुम्लाका सात गाउँपालिका र एक नगरपालिकाका २ सय १८ गाउँबस्ती मध्ये १७ गाउँबस्ती छुईगोठ मुक्त भएका छन् । तिला गाउँपालिकाको पुरु गाउँ सहित पोख्री, रावतवाडा, जोगीवाडा, ढिमकोट, चुलाकोट, थापागाउँ, डुङरी, खोलीगाउँ छुईगोठ मुक्त भएका छन् भने तातोपानी गाउँपालिका, लाम्रा, श्रीनगर, हियाखोला, वाँईराँका र जैतपुर गाउँलाई यसअघि नै छुईगोठ मुक्त भईसकेका छन् । पातारासी गाउँपालिकाको माथिल्होर्प र तलिल्होर्प गाउँ पनि छुईगोठ मुक्त गरिएको छ । हिमा गाउँपालिकाको महाबैपाथरखोला गाउँलाई छुईगोठ मुक्त गरिएको छ ।
पछिल्लो समयमा स्थानीय सरकार गाउँ तथा वडापालिका, विभिन्न महिला समुह, संजाल तथा सर्वोदय नेपाल, क्याड र एक्सन वक्स जस्ता गैरसरकारी संस्थाले जनचेतनाकै कारण अन्ध विश्वास न्यूनिकरण गर्दै छुईगोठ मुक्त गर्ने अभियान चलिरहेको छ । पुरानो अन्धविश्वासले महिलाको ज्यान जोखिममा रह्र्यो, सरकारले छुईपडी निर्देशिका २०६४ ल्याएपछि यसको कार्यान्वयन स्वरुप घोषणका कार्यक्रम भईरहेका छन् ।

तपाईको प्रतिक्रिया