बेरोजगार जुम्ली पुरुषजति कालापहाड, महिला गाँउकुर्दै


नन्दराम जैसी ।

जुम्ला । जुम्लाको कोईरेली गाँउका युवादेखि बृद्धसम्म सबै पुरुषहरु धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाहरुले मात्र गाँउ कुरीरहेका छन् । गाँउमा पुरुष नहुँदा कुनै अप्रिय घटना नघटोस् भनेर महिलाहरुले पुरै गाँउको रातदिन रेखदेख गर्न थालेका हुन् । गाँउका सबै महिलाहरु दिनमा स्याउला, सोत्तर तथा दाउरा संकलनगर्न वा अन्य कुनै काममा निस्किएको बेला घरमा भएका महिलाहरुले सिंगो गाँउनै रेखदेख गर्ने गरेको स्थानिय राजी रोकायाले बताईन् । ‘पुरुषजति कालापहाड गएपछि गाँउ शुन्य छ, कोहि मर्दा मलामी र पर्दा पछाडी हिड्ने लोग्नेमान्छे छैन’ उनले भनिन्, ‘जिल्लामा हिंसाका घटना बढिरहेका छन्, यो बेला हाम्रो गाँउमा कुनै अप्रिय घटना नघटोहोस् भनेर हामी गाँउ कुर्न थालेका हौै ।’

महिलाहरुकै अगुवाईमा कोईरेली गाँउ मानव अधिकारमैत्री, छुईपढि, बालबिवाह र मद्यपान, धुम्रपान मुक्त समाज घोषणा भैसकेको छ । सिंजा गाँउपालिका २ मा पर्ने ३८ घरधुरी रहेको यो गाँउ जिल्ला सदरमुकाम भन्दा ४० कोष घण्टा टाढा पर्छ । गरीबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ, भन्ने यस गाँउका पुरुषहरुमा सोचाइ छ । गाँउका पुरुषहरुमध्य एक युवक नेपाल आर्मी छन्, भने अन्य सबै युवा बेरोजगार छन् । मंसिर लागेसँगै उनिहरु फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किएका हुन् । यसरी पुरुषहरु एकमुष्ट कालापहाड निस्केने कोईरेली जिल्लाको प्रतिनिधि गाँउ मात्रै हो, तर सिंजा क्षेत्रका अधिकांश गाँउमा यतिखेर पुरुषको शुन्यता छ । सिंजा क्षेत्रसँगै जुम्लाका अधिकांश बेरोजगार पुरुषहरु मंसिरदेखि चैत्र महिनासम्म धन कमाउन कालापहाड जाने गर्दछन् । यो समय जुम्लामा घरायासी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यँहाका युवादेखि बृद्धसम्म कालापहाड जान बाध्य छन् । हालसम्म जुम्लाबाट के कति पुरुष कालापहाड छिरे भन्ने कसैसँग एकिन तथ्यांक नभएपनि यो समयमा कम्तिमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको अनुमान छ ।

‘गाँउमा पैसा कमाउने कुनै विकल्प छैन, पैसा नभएर भोको पेट भरीदैन’ कोईरेलीका पदम रोकायाले भने, ‘पुर्खादेखि कालापहाडका दुःख हटेका छैनन्, त्यसैले धन कमाउनकै लागि कालापहाडीन बाध्य छौ ।’ गाँउ गाँउमा आएको सिंहदरबारमा बस्ने सिंहहरु नअघाउन्जेल गरीब दुखिलाई रोजगारी नमिल्ने भन्दै अन्नपुर्णसँग उनले दुखेसो पोखे । स्थानिय पदमकला रोकायाले घरायासी समस्याका कारण बाध्य भएर श्रिमानलाई कालापहाड पठाउनुपरेको बताईन् । ‘श्रिमानलाई परदेशमा अर्काको भारी बोक्न पठाउने कुनैरहर थिएन, तर गाँउमा पैसा कमाउनलाई सानोतिनो कामपनि पाँइदैन’ उनले भनिन्, ‘गाँउमा खालि बसेर कसरी पाँच जनाको परिवार पाल्नु, त्यसैले श्रिमानलाई कालापहाड पठाएर घर समाल्नुपर्ने पिडा छ ।’ यतिखेर कालापहाड गएका पुरुषहरु फागुन महिना लागेसँगै कृषि खेतिका लागि जिल्ला फर्किन थाल्छन् । जुम्लामा सुख्खा र चिसो मौषमका कारण कार्तिकदेखि फागुन महिनासम्म कृषि खेति हुँदैन ।

तपाईको प्रतिक्रिया