जुम्ला । जुम्ला विमानस्थलको स्तरोन्नती कार्य अन्तिम चरणमा पुगेको छ। स्तरोन्नती लागि भन्दै गत कार्तिक ८ गते देखि विमानस्थल बन्द गरिएको थियो।
जुम्ला विमानस्थलका प्रमुख कैलाश शमाले रनवेमा रहेको सेतो संकेत गर्ने काम मात्रै बाँकी रहेको जानकारी दिए। उनले भने,“बिमानस्थलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ, सम्भवतस् भोलीदेखि विमानस्थलमा विमान अवतरण तथा उडान हुनेछन्। विमानस्थल जीर्ण हुँदै जाँदा निकै खतरा बढेको थियो, मर्मतपछि खतरामुक्त विमानस्थल बनेको छ।“
कार्तिक ८ देखि मंसिर ८ सम्म मर्मतको काम सक्ने गरी नेपाल नागरिक उड्ययन प्राधिकरणको कार्यालयले सुचना सार्वजनिक गरेको भएपनि झण्डै दुई महिना लगाएर मर्मतको काम सकिन लागेको हो। बुधबारै विमानस्थल सुरक्षा समितिको बैठक बसेर उडान गर्ने बारेमा निर्णय गर्ने जुम्ला विमानस्थल कार्यालयले जानकारी दिएको छ।
विमानस्थल स्तरोन्नती कार्य चिसो मौसममा भएकोले पिच राम्रोसँग नभएको हुुन सक्ने आशंका गरिएको छ। विमानस्थल मर्मत सकिन लागेको खबरले स्थानीय उत्साहित छन्। अहिले जहाज नहुँदा धुलाम्मे र हिलाम्मे कर्णाली सडकमा जोखिमपुर्ण यात्रा गर्न जुम्लाबासी बाध्य थिए।
२०४० सालदेखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन। विमानस्थलको पिच उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो। जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाईन्सको जहाजले उडान भर्ने गरेका छन्। नागरीक दैनिकबाट