मूल्य नपाउँदा थन्कियो, जुम्लाको अर्गाकिक सिमी

जुम्ला । जुम्ला तिला गाउँपालिका ६ का लालवहादुर रावत जुम्लाको सिमी विक्रिका लागि सुर्खेतमा ल्याएर आएको साता वितिसक्यो । तर उनले अहिले सम्म पाँच क्विन्टल सिमी पनि विक्रि गर्न सकेका छैनन् । सुर्खेत स्थित मंगलगडी चोक नजिकै खुला चौरमा स्टोर गरेर राखेको सिमी सोध्न आउने गरेको भएपनि खरिद गर्न निकै कम आउने गरेको उनले वताए । उनले भने,“जुम्लाको सिमीका लागि सुर्खेतको बजार पनि काम लागेन्। यसले सिमी उत्पादन गर्ने किसान निरुत्साहित हुने खतरा बढेको छ ।” जुम्लाका गाउँमै एक सय १० रुपैयाँमा खरिद गरिएको सिमी एक सय २० रुपैयाँमा बेच्दा समेत विक्रि नभएको उनले बताए। उनले भने,“जुम्लामा सुर्खेतमा सिमीको माग अत्याधिक छ भन्छन्, तर सुर्खेतमा आउँदा लामो समय सम्म स्टोर गर्नु पर्ने बाध्यता छ । यो वर्ष सिमी व्यापारी निकै घाटामा छन्।“ उनले विक्रिका लागि ५० क्विन्टल सिमी सुर्खेत र्पुयाएका छन् । खुला बेच्दा एक सय २५ रुपैयाँ किलो र होलसेलमा एक सय १५ रुपैयाँमै बिक्रि गर्ने गरेको उनले बताए ।

जुम्लाकै लंकबहादुर बुढा समेत सिमी व्यापारी हुन् । उनी पनि एक महिना देखि सिमीको बजार खोज्दै भौतारिरहेका छन्। उनले भने,“जुम्लाको अर्गा्निक सिमीको माग बढ्दो हुनुपर्नेमा घट्दो अवस्थामा छ। कर्णाली प्रदेश सरकारले अर्गा्निक कृषि जन्य वस्तुको प्रवर्द्धन गर्ने भन्छ, अर्गा्निक जिल्ला जुम्लावाट आएको बस्तुले भाउ पाउदैन्, यो बिडम्वना छ“, उनले भने, “सरकारले जुम्लामा स्याउ र सिमीलाई प्राथमिकता दिईरहेको छ, तर यसको बजारीकरण भरपर्दो छैन्, यसका लागि सरोकारवाला पक्ष गम्भीर भएर नलागेको खण्डमा यहाँका किसानले उत्पादनको मूल्य नपाउने खतरा बढेको छ ।”

स्याउ, सिमी निर्यातकालागि स्थानीय सरकारलाई कर तिर्नुपर्ने तर बजारीकरणको लागि कुनै पक्षवाट पहल नभइरहेको उनले गुनासो गरे। “किसानलाई मर्का छ, निती निर्मातालाई मस्ती छ, यस्तो विडम्वना पुर्ण हर्कतको अन्त्यका लागि किसान जुट्नु पर्छ ।“ उनले भने । उनले झण्डै ५० क्विन्टल सिमी सुर्खेत ल्याएकोमा २० क्विन्टल मात्रै बिक्रि भएको बताए । यो पटक जुम्लामा सिमी उत्पादनमा बृद्धि भएको छ। माग र मूल्य कम भएकोले व्यापारी तथा किसान मर्कामा परेका छन्। जिल्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा सिमी खेति हुन्छ । सिमी खेतिलाई व्यवसायीक बनाउने भन्दै स्थानीय तहले किसानलाई अनुदानको व्यवस्था गरेका छन् । तर किसानले उत्पादन गरेको सिमीले मूल्य नपाएर महिनौ सम्म थन्क्याउनु परेको छ । त्यसैले सिमीको उत्पादनसँगै बजारीकरणको व्यवस्थापनका लागि स्थानीय सरकार लाग्नु पर्ने किसान बताउँछन् ।

जुम्ला स्थित चन्दननाथ सहकारीले जुम्लाको अर्गा्निक सिमीको विरेन्द्रनगरमा सुपथ मूल्यको पसल राख्न थालेको छ। जुम्लावाट ल्याएको सिमी यहाँ ग्रेडिङ, लेवलिङ, प्याकेजिङ र अर्गा्निक प्रमाणीकरण गरेर मात्रै बजार सम्म लैजाने प्रवन्ध मिलाउँदैछ । कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी सिमीको व्यवसायीक खेतिसँगै किसानलाई अर्गा्निक प्रमाणीकरण गरेर मात्रै बजार सम्म र्पुयाउन सुझाउछिन् । उनले भनिन्,“अहिले अर्गा्निकका नाममा नेपालगंज, रुपैडिहावाट ल्याएको तरकारी पनि व्यापार गर्ने गरिएको छ, जुम्लाको अर्गा्निक सिमी हो भन्ने प्रमाणित गर्न प्रमाणीकरण आवश्यक छ।“ उनी किसानलाई व्यवसायीक बनाउदै कर्णाली प्रदेशवाट सिमी निर्यात गर्ने खालको योजना तर्जुमा गर्न लागेको बताउँछिन् । नागरीक दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस