नन्दराम जैसी,
जुम्ला । विश्वमै दुर्लभ हुँदै गएका गिद्धहरु धेरै बर्षपछि जुम्लामा देखिएका छन् । तातोपानी गाँउपालिका ६ स्थीत कर्णाली राजमार्गको सडकमै फालिएको सिनो खाँदै गरेको अवस्थामा गिद्धहरु भेटिएका हुन् । ‘पहिले पहिले धेरै देखिने गिद्धहरु विगत चार, पाँच बर्ष यता देखिन नै छाडेका छन्’ स्थानिय बृद्ध शिव बुढाले भने, ‘पशुहरु मर्दा खोला निकारमा फाल्थ्यौ, तर गिद्धहरु आँउदैने थ्ये, धेरै समयपछि गिद्ध देख्दा अचम्म लाग्यो ।’ सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा जिल्लामा गिद्ध संरक्षण अभियान समेत संचालन भैरहेका छन् । जिल्लाका विज्ञहरुका अनुसार कृषि तथा पशुपालन क्षेत्र तथा पशुको आहारामा प्रयोग हुँदै आएको रसायानीक बिषाधिका कारण गिद्धहरु सिनो खाईसकेपछि मर्ने गर्दछन् । भने घना बनजंगल फडानी तथा पशुबस्तु मर्दा खाल्डोमा गाड्ने चलनले गिद्धहरु दुर्लभ हुँदै गएका हुन् ।
किन बचाउने गिद्ध
गिद्ध शिकारी चरा समूह अन्र्तगत पर्ने ठूला मांसहारी पंंक्षी हो । यिनले आफै शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खाँने गर्दछन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थलाई खाई हाम्रो वरपरको वातावरणलाई प्रदुषित, दुर्ग्न्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । गिद्धहरूले विभिन्न हानीकारक किटाणुहरू भएको सडेगलेको मासु खान्छन् र त्यसलाई पचाउँछन् । पर्यावरणीय चक्र र सनातन खाद्य श्रृङखला सन्तुलन र गतिशीलताको संवाहक गिद्धको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता हो ।
गिद्धको अभाव भएमा सिनो प्रकृतिमा यसै सड्छ, जसमा भुस्याहा कुकुर, स्याल, मुसा र भिंगाको संख्यामा बृद्धि हुन्छ । फलस्वरुप मानिसमा रेविज, प्लेग हैजा, आउँ, झाडापखाला आदि घातक सरुवा रोगहरू फैलिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर पुजनकुमार रोकायाले बताए । पशु विज्ञ गोविन्द महतका अनुसार पशुचौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता रोगहरुको संक्रमणले महामारीको रुप लिन सक्दछ । गिद्धहरु औषत तीन दिनमा एक केजी सिनो खाने गर्छन् । यस हिसाबले यउटा गिद्धले मात्र पनि एक वर्षमा १२० केजी सिनोको खपत गर्दछ । त्यसैले गिद्ध संरक्षण गर्न आवाश्यक छ । गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो ।