
नन्दराम जैसी,
जुम्ला । कर्णालीका ६८ प्रतिशत किशोरीहरु महिनावारी अर्थात छाउहुँदा अहिले पनि छाउगोठमै बस्ने गरेका छन् । एक तथ्यांक अनुसार छाउगोठमा बस्ने कर्णालीका महिला तथा किशोरीहरुको संख्या करीब तीन तिहाई छ । छाउहुँदा छाउगोठमा बस्ने महिला तथा किशोरीहरुको अवस्था बारे जुम्लाको कनकासुन्दरी, सिंजा र हिमा गाँउपालिकामा गरीएको नमुना घरधुरी सर्वेक्षणको आधारमा कर्णालीमा छाउप्रथाको अवस्था प्रष्टै झल्किन्छ । उक्त सर्वेक्षण अनुसार कनकासुन्दरी गाँउपालिकामा ६८ प्रतिशत किशोरी र ५८ प्रतिशत महिला छाउ हुँदा अँझै पनि गोठमा बस्ने गरेका छन् । जसमध्य २५ प्रतिशत महिला र १३ प्रतिशत किशोरीले छाउहुँदा घरभन्दा अलगै छाउगोठमा बस्ने गरेको बताएका छन् । भने १७ प्रतिशत महिला र १९ प्रतिशत किशोरीले मात्रै छाउहुँदा घरमा बस्ने गरेको बताएका थिए ।
अन्तराष्ट्रिय अर्धसरकारी संस्था प्लान ईन्टरनेसनल नेपाल र आत्म सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाले नमुना सर्वेक्षण कार्य सम्पन्न गरेका हुन् । सर्वेक्षणमा सबै वडाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक स्थानिय तहका एक सय ४४ जना महिला तथा किशोरीलाई प्रश्न गरीएको थियो । हाल सर्वेक्षण गरीएका तीनवटै स्थानिय तह जिल्लाका अन्य स्थानिय तहका गाँउबस्तिभन्दा कम छाउ मान्ने क्षेत्र हुन् । तर जिल्लाका सबै स्थानिय तहमा छाउपडिको अवस्था उस्तै छ । नमुना सर्वेक्षणका क्रममा बाल सहभागीता, बाल बिवाह, बाल बेचबिखन, किशोरी तथा महिलामा रहेको बालहिंसा र दुव्र्यवहारबारे जानकारी र पहिलो पटक गर्भवति हुँदाको उमेरको अवस्थाबारे सर्वेक्षण गरी तथ्यांक निकालिएको छ ।
जिल्लामा सम्पन्न एक कार्यक्रममा सबै सर्वेक्षणको तथ्यांक सार्वजनिक गर्दै क्याड नेपालकी दिक्षा भाटले भनिन्, ‘नमुना सर्वेक्षणमा सहभागी छाउगोठमा बस्ने महिला र किशोरीहरुलाई सामाजिक दबाब छ, बाध्यताले छाउगोठमा बस्दा उनिहरुको शाररीक तथा मानसिक अवस्था समेत कमजोर हुँदैछ ।’ नमुना सर्वेक्षणको आधारमा जुम्लासँगै साविकको कर्णालीका सबै जिल्लामा छाउपडि प्रथाले गम्भिर समस्या पारेको नागरीक समाजका नन्दप्रसाद न्यौपानेले बताए । ‘छाउपडि न्युनिकरण अभियानमा सरकारी तथा गैरसरकारी निकायबाट जिल्लामा अरबौ खर्च भयो, तर उवस्था उस्तै छ’ उनले भने, ‘२१ औ शताब्दिमा समेत धर्म र संस्कारका नाममा आफ्नी छोरी चेलीलाई गोठमै राखेर नर्कको जिबन जिउन लगाउने हामी कर्णालीबासी कँहा छौ ।’
छाउपडि प्रथाकै कारण कर्णालीका महिला तथा किशोरीहरुमा हिंसा बढेको राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालय प्रमुख रमेशकुमार थापाले बताए । जिल्ला प्रहरी महिला सेवा केन्द्रकी प्रहरी हवल्दार बिमला कुँवरले छाउपडि प्रथाका कारण महिला तथा किशोरीहरुले भोग्नु परेको समस्या उजुरीको रुपमा नआएको बताईन् । ‘छाउगोठमै बसेका कारण महिला तथा किशोरीहरु बलात्कृत, कुटपिट हुनुका साथै जनावरको समेत आक्रमणममा पर्छन्, तर सामाजिक दबाबका कारण उजुरी दिँदैनन्’ उनले भनिन्, ‘यस्ता मुद्धा समाजमै मिलापत्र गरेर पिडितलाई थप पिडा दिने काम भइरहेको छ ।’ अधिबत्ता मिनबहादुर महतले छाउपडि कारण हिंसामा परेका महिला तथा किशोरीले न्याय पाईसकेपछि पुनः समाजमा उचित पुर्नस्थापना हुन नसक्दा उनिहरु हिंसा सहेरै बस्न बाध्य भएको टिप्पणी गरे ।