
नन्दराम जैशी,
जुम्ला । काञ्जिरोवा हिमाल हुँदै जुम्लाबाट बहेर कर्णाली नदिमा मिसिने तिला कर्णालीमा धमाधम माछा मर्न थालेका छन् । विगत एक महिना यता तिलाको विभिन्न स्थानमा ठुलो संख्यामा माछा मरेर छालमा तैरीएको अवस्थामा भेटिएका हुन् । जुन तिला नदिमा पाईने अर्थात धमाम मर्न थालेको माछा विश्वमै लोपन्मुख असला जातको माछा हो । जिल्लाको रारालिहि, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगाएतका विभिन्न नदि स्थानमा माछा मरेर छालमा तैरीरहेको अवस्थामा भेटिने गरेपनि यस बिषयमा सरोकारवालालाई भने र्भखर मात्रै थाँहा भएको हो । स्थानियले नदिमा मरेका माछा छोपेर बच्ने वा घरमा खाने गरीरहेका थिए । मरेका माछा बेचेको वा खाएको थाँहा पाएमा राम्रो नहुने भन्दै स्थानियले यस बिषयलाई गुपचुपमै राखेको खुल्न आएको हो ।
प्रतिदिन लाखौ संख्यामा माछा मर्नुको कारण खुलेको छैन । अज्ञात रोगले माछा मरेको बताईएपनि नदिमा बिषादिको प्रयोगले मरेको हुनसक्ने अधिकांशको आशंका छ । यस बिषयमा अनुसन्धान गर्न तीन सदस्यीय समिति समेत गठन भएको छ । भेटेरीनरि अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख गोविन्दवहादुर महतको नेतृत्वमा ३ सदस्यीय अनुसन्धान टोलि गठन गरिएको हो । सदस्यमा कृषि ज्ञान केन्द्र र स्वास्थ्य कार्यालय रहेका छन् । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलका अनुसार अनुसन्धान टोलीलाई एक हप्ता भित्र माछा मर्नुको कारण पहिचान गरि रिपोर्ट बुझाउन निर्देशन गरिएको छ । ‘एक हप्तापछि माछा मर्नुको कारण पहिचान हुने आशामा छौ, यतिखेर मरेका माछा उपभोग तथा बिक्रिबितरण नगर्न सुझाव छ’ उनले भने । साथै मरेका माछा छोपेर बजारमा विक्रि नगर्न उनको आग्रह छ ।
हरेक दिन स्थानियले मरेको माछा छोप्ने गरीरहेको चन्दननाथ नगरपालिका १० गैरागाउँका नरेन्द्र भण्डारीले बताए । ‘नदिमा आधा केजि भन्दा ठुला सिंगै माछा मरेको देखिन्छ, तर साना माछाहरु धेरै मरेका छन्’ उनले भने, ‘विशेष गरी पानीको बेग कम भएको स्थानमा मरेका माछाहरु भेटिन्छन्, यसरी माछा मरेमा पछि भेटाउन मुस्किल पर्ला ।’ मौसम चिसो भएकाले मरेका माछ नसड्ने हुँदा बेच्न राखिएका माछा मरेकै हुन् या होईनन् भनेर छुट्याउने कुनै आधार छैन । ठुलो मात्रामा नदिमा माछाहरु मरेको देख्दा सरोकारवाला चिन्तीत भएका छन् । नदिमा विषादि प्रयोग, पानीमा करेन्टर लगाएर वा अन्य कुनै कारणले माछाहरु मरेको हुनसक्ने आशंका छ ।