सडकमा जमेको हिउँ डोजरले पन्छाइँदै


जुम्ला : डोजर लगाएर कर्णाली राजमार्गमा जमेको हिउँ पन्छाउन थालिएको छ । जुम्ला र मुगुको सीमाक्षेत्र घुच्ची लेकमा सडकमा जमेको हिउँ पन्छाउन डोजर लगाइएको छ । हिमपातका कारण दुई सातादेखि  नाग्म–गमगढी अवरुद्ध छ । घुच्ची लेकमा चार फिटभन्दा बाक्लो हिउँ जमेको छ । हिउँ पर्न रोकिए पनि सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् ।

सोमबार मुगु उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको पहलमा सडक डिभिजन कार्यालय, जुम्लाको डोजर प्रयोग गरी घुच्ची लेकको हिउँ पन्छाउन थालिएको हो । सडक अवरुद्ध भएकाले दैनिक उपभोग्य सामानको अभाव हुन थालेपछि हिउँ पन्छाउन डोजर प्रयोग गरिएको मुगु उद्योग वाणिज्य संघका सचिव मानबहादुर बुढाले बताए ।सडकको हिउँ पन्छाउन अझै दुई–तीन दिन लाग्ने जनाएको छ । सुर्खेत र नेपालगन्जबाट व्यापारीले ल्याएका सामान पनि जुम्लाको सिन्जा, गोटीज्युला भुलभुलेमा रोकिएका छन् ।

तपाईको प्रतिक्रिया