स्याउ बगैँचा व्यवस्थापन सिप सिक्दै कृषक


जुम्ला ः जिल्लामा स्याउका बिरुवा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्ने सिजन सुरु भएपछि कृषकलाई तालिम दिएको छ । वल्र्डभिजनको सहयोग तथा कास्डा जुम्ला र तिला गाउँपालिकाको समन्वयमा कृषकलाई स्याउ बगैचा व्यवस्थापन तथा काटछाट सम्वन्धी तालिम दिएको हो ।


जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् । तिला गाउँपालिकाका राँसा, सुडी, रिपी, खोप्री र पुरु गाउँका २५ जना स्याउ उत्पादक कृषकलाई तालिम दिएको हो । बगैचा व्यवस्थापन तालिमको सहजीकरण तिला गाउँपालिकाका कृषि शाखा प्रमुख हिक्मतराज गिरीले गरेका थिए । कृषकलाई कसरी स्याउ काटछाट गर्ने, बोडोपेस्ट कसरी लगाउने जस्ता सिप सिकाईएको शाखा प्रमुख गिरीले बताए ।
बिरुवालाई स्वस्थ बनाउन र रोग किराको सङ्क्रमणबाट बचाउनका लागि पनि काँटछाँट गरी बगैचा व्यवस्थापन गर्नुपर्ने उनको भनाई रहेको छ । उनले भने माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिरुवा काँटछाँट र बोडोपेष्ट लगाउन उपयुक्त समय मानिन्छ ।


तिला गाउँपालिका – ९ राँसाकी मछालदेउ स्याउ उत्पादक समुहकी मैना रावतका अनुसार तालिममा सिकेका सिप व्यवहारमा प्रयोग गर्ने छौँ । अबका दिनमा स्याउ बगैचा व्यवस्थापन तथा काटछाट महिलाले पनि गर्न सक्ने बताईन् । कास्डा जुम्लाका बजार संयोजक श्रीराम थापाका अनुसार बगैचा व्यस्थापन सम्वन्धी तालिम सहित कृषकलाई बोडोपेष्ट बनाउने निलोथुतो र चुना उपलव्ध गराएको छ । यसले कृषकका स्याउ बगैचाका रोगकिरा नियन्त्रण गर्ने अपेक्षा गरिएको छ उनले भने ।

तपाईको प्रतिक्रिया