स्वर्गभुमीलाई विकट भनेँ, ‘मलाई माफ गर जुम्ला’


लक्ष्मी पौडेल अनुरागी,

कर्णाली प्रदेशका दश जिल्ला । दशमध्ये एक जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट लगातार बाह्र घण्टा भन्दा बढि समय यात्रा पश्चात स्वर्गको अनुभुती गर्न पाउने ठाउ जुम्लामा नयन बिसाउन सकिन्छ । तिनै आँखाले हेर्नै हम्मेहम्मे हुने अनकन्टार पहाड, मुटु चिसो बनाउने डरलाग्दा पहरा र चट्टान अनि चिसो पानिलाई आफ्नै काखबाट हुत्याइरहेका सयौ छहरा, आफ्नै रफ्तारमा दौडिरहेकी कर्णाली नदिको काख काखै, हिमा कर्णालीको पुच्छर र तिला कर्णालीको प्यारो काखसंगै सयौ साना खोलाहरु पार गर्दा जुम्लाले स्वागत गर्छ । मुसुक्क हाँसेर स्वागत गरेका तिनै पहाड र डाफे हिमालका खोचहरु सायद हाम्रै स्वागतमा तड्पिएका होलान । जुम्लीनी अन्टी हाम्रै लागी तातोपानि लिएर आउछिन । अनि जुम्ली अंकल भेडाको रौ बाट बनाएको लोभलाग्दा र आकर्षक अर्गा्निक पाखी हाम्रा लागि तम्तयार बनाउछन । वरिपरी सुन्दर ति सेताम्मे पहाडले मुस्कान दिईरहँदा साच्चिकै हामिले फोटो खिच्दा ’पच्चिस’ भनेर मुस्कुराएको याद आउँछ । जुम्ली साँल्दाईले खस भाषामा स्वागत गर्दा त साँच्चीकै कता न कता भएको अनुभव हुन्छ । चिसोले पहिलो दिन ओछ्यानमै करेन्ट लागेको जस्तो आभास भएको मान्छे लाई एक हप्ताको जुम्ला बसाईले जुम्ला र जुम्लीहरुको मायामै डुबुल्कि खेलिरहन रहरहरुको भेल उब्जाउनु पनि अनौठो कुरा थिएन । सधैझै जुम्लामै रमाउन मन लाग्नु अनौठो कुरा लागेन । पात झरेर अस्थिपञ्जर जस्तै बनेका स्याउ र अरु फलफुलका बोटहरु देख्दा मलाई अर्कोपटक जुम्ला जान तम्तयार बनायो ।

‘परापुर्व कालमा जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो ।’

वरिपरी पहाड, बीचमा तिला नदि त्यसको वारपार समथर जमीन जमीनमा मिलेर रहेका थुम्म थुम्म बस्तिहरु र टोलहरुले सायद सामाजिक एकताको पाठ पक्कै सिकाउछ । छरिएर रहेका बस्तीको परिकल्पना गरेर जुम्ला प्रस्थान गर्नेहरुलाई सायद दाँतमा ढुङ्गा लागेको अनुभुती गाराइदिन्छन्, भन्छन जुम्ली अंकल अन्टीहरु । कस्ता मिलेका चिटिक परेका गुजुमुजुक्क बस्तिहरु र त्यस्तै मार्सी फल्ने खेतका फाँटहरु देख्दा स्वर्ग भुल्न बाध्यको नै नहुदो हो सायद । छेउमै आफ्नै वेगमा बगिरहेको तीला नदी । त्यसैमा सेताम्मे डाँफे हिमालको मुस्कानले को नै भुतुक्क नहुँदोहो सायद । नेपाली भाषाको उद्गम थलो सिजा पुग्दा पनि मन लठ्ठै परिहाल्यो । जहाँ पनि मिलेर रहेका बस्तीहरुले सायद जो सुकैले सामाजिक एकताको पाठ सिक्छ होला । त्यसैमा सिंजाली अन्टीले नेपाली खस भाषामा गित गाउँदा सुनिरहन बाध्य कसलाई पो बनाउँदैन होला र ! वरिपरी सेताम्मे हिमाल, बिचमा हिमा नदी र वारपारी मिलेका बस्तिहरु र हिमाको छालमा सुन्दर खेतका फाँटहरु सम्झिन मन लाग्यो ।

जुम्ला सदरमुकाम खलंगा ।

तिला, हिमा नदी, चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर, सिस्ने हिमाल, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ जस्ता चिजले जुम्लालाई जुम्ला जस्तो बनाएको मैले पाएँ । इतिहासमा उल्लेख भए अनुसार जुम्लाको सिंजा राज्य भएको जिल्ला हो, जुम्ला । सस्कृती प्रेमी, इतिहासकार, प्रकृतीप्रेमी, पत्रकार र विद्यार्थीहरुको लागी जुम्ला जिल्लाको सेरोफेरोको भ्रमणले धेरै कुरा सिकाउछ । कलाकारलाई गित गाउँ(गाउँ बनाइदिने, लेखकलाई लेखुलेखु बनाईदिने स्वर्गभुमी जुम्लालाई कसरी भुल्न सकिन्थ्यो र ।

मलाई माफ गर जुम्ला । मैले गल्ति गरेको थिएँ । कृपया मलाई क्षमा गर जुम्ला । मैले तिमिलाई सँधै कर्णालीको बगर भनिरहेँ । मैले सधै तिमिलाई जुम्ला भनेर हेपिरहे । मलाई माफ गर जुम्ली अंकल, अन्टी मैले तिमिहरुलाई सधै जुम्ली भनेर होच्याइरहेँ । म अनि मेरो परिवारको जुम्ला, जुम्ली र सिङ्गै साविक कर्णाली प्रतिको नजर कहिल्यै सहि हुन सकेको थिएन । दैलेख पछी अनकन्टार पहरा र छहराको जिल्ला कालिकोटपछी जुम्लाले स्वागत गर्छ । जुम्ला र जुम्लीप्रतीको नजरमा त्यतिबेला परिवर्तन हुन्छ । जतिबेला जुम्ला पुगिन्छ । लाखौँ सम्भावनाका विचमा केही चुनौतीको जिल्ला जुम्लाले लाखौ, करोडौँ नेपालीलाई अर्गानिक स्याउ खुवाएको छ । अर्गानिक सिमी खुवाएको छ । म लगाएत मेरा साथिहरुले मार्सीधानको खिर भनेर सामाजिक सञ्जाल फेसबुक रङ्गाईरहँदा मैले जुम्लालाई सम्झिन सकिन र ति मार्सि फल्ने सुन्दर खेतका फाँटहरुलाई कहिल्यै सम्झिन सकिन । उल्टै जुम्ला भनिरहेँ र जुम्ली भनिरहेँ । त्यसैले मलाई माफ गर जुम्ला । सयौ छहरा नदि ताल तलैया र मनमोहक हिमालहरुले मलाई आज मोहनी लगाएर मेरो गल्तीलाई सम्झाइदिएका छन । जुम्ला भन्नेवित्तिकै फरक र खराब सोच भएकाहरु कृपया जुम्ला जानुहोस र असलि जुम्लाको रुप हेरेर आउनुहोस । मलाई माफ गर जुम्ला मैले जुम्लालाई यो सोच्न सकिन कि सामाजिक एकताको सुन्दर रुप भएको जिल्ला भनेर ।

छरिएर रहेको समाज र बस्ति भएको जिल्लाको परिकल्पना गरेर जुम्ला जानेहरु मध्ये म पनि हुन सक्छु होला सायद । के छैन जस्तो लाग्छ जुम्लामा । बाह्रै महिना तातो पानी बग्ने पनि यहाँ नै । वास्तवमा जुम्ला लाई फरक नजरले हेर्नु र फरक सोच राख्नुले कर्णाली प्रदेशका अन्य जिल्लावासी हरुलाई गलत कामको जिम्मा आउने गर्छ । मलाई माफ गर्नु जुम्ला मैले सधै अभागि भनिरहेँ तिमिलाई । तर मैले तिमिले पठाएको स्याउ खाँदै तिम्रै कुरा काटिरहेँ । तिमिलाई छि जुम्ला भनिरहेँ । तिमिलाई ब्यर्थ भनिरहेँ । म र मेरो परिवारले मार्सिधानको भात खाँदै जुम्ली अंकललाई पाखे भनेर हेपिरह्यो । जुम्लाई विकट दुरदराज भनिरह्यो, खाडी भनिरह्यो । मेरा साथिहरुले जुम्लाको मार्सिधानको भात खाँदै गरेको फोटो फेसबुकमा पोष्ट गरिरहँदा जुम्लिदाईलाई पाखे र केही थाहा नपाएको पाखे भनिरहे र फेसबुक मेसेजमै गाली गरिरहे । त्यतीबेला मलाई नाजावाफ बनिरहे । जुम्लाको सिमीको दाल, भात खाँदै पल्लाघरका माइला काकाको परिवारमा जुम्ला, बिकट, असहज र जुम्लीलाई पाखे र नराम्रो भनेर कुरा काटिरहँदा म नाजवाफ भए । त्यसैले समग्र कर्णालीको पर्यटन, विकास र समृद्धि जुम्ला जिल्लाविना असम्भव छ । यसकारण जुम्ला र जुम्लीप्रतीको सोच र नजर परिवर्तन गरिन जरुरी छ । एकचोटी ज्युदै स्वर्गको अनुभुती गर्न जुम्ला पुग्न जरुरी छ ।


लेखक लक्ष्मी पौडेल अनुरागी, तन्नेरी चासो सुर्खेतका संचार प्रमुख हुन् ।

तपाईको प्रतिक्रिया