दुर्घटना घटाउन सवारी चालकको स्वाथ्य परीक्षण

सवारी चालकको स्वास्थ्य परिक्षण गर्र्दै स्वास्थ्यकर्मी । तस्विर ः नन्दराम जैसी ।

कर्णाली पोष्ट,

जुम्ला । कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सवारी चालकको निशुल्क स्वाथ्य परीक्षण गर्ने अभियान जारी छ । यस अभियान अन्र्तगत आईतबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परिक्षणमा ५० जना चालकको स्वास्थ्य चेकजाँच गरीएको छ । कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दुरीका सवारी चालकहरुले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । यसअघि जुम्ला बसपार्कमा भएको स्वास्थ्य परिक्षणमा ७७ जना सवारी चालकहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गर्नेमा ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबहाक गाडीका चालकहरु हुन् ।

आईतबार स्वास्थ्य परिक्षण गरीएका ५० जना चालकमध्य दुई जनालाई आाँखाको समस्या, तीन जनालाई आँखाको कलर भिजन वा ट्राफिक चिन्ह्र सजिलै चिन्न नसक्ने समस्या देखिएको छ । भने अधिकांश चालकहरु प्रेसरका रोगी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वाथ्यकर्मी कर्मेन्द्र न्यौपानेका अनुसार चालकहरुले अध्यधिक मदिरा, धुम्रपान तथा खैनी सेवन गर्ने गरेकाले उनिहरुको स्वास्थ्यमा असर परेको देखिन्छ । अधिकांश चालकको कलेजो र फोक्सोमा समेत समस्या बढ्दै गएको उनले बताए ।

‘मदिरा सेवनकै कारण चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण देखिएका छन्’ उनले भने, ‘सवारी चालकहरुले आफु स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान सेवन छोड्नु पर्छ ।’ आँखा चिकित्सक दलबहादुर महताराले भने, ‘चालकहरुको आँखामा देखिएको समस्याका कारण सवारी संचालनमा समेत असर परेर दुर्घटनासम्म निम्तीन सक्छ ।’ त्यसैले सवारी चालकहरु आफु स्वस्थ रहन र अरुलाई पनि दुर्घटनाबाट बचाउन समयमै आँखा रोगको उपचार गर्न जरुरी रहेको उनले बताए ।

कर्णाली राजमार्गमा सवारी चलाउँदा चालकहरुले धुम्रपान तथा मध्यपानको अधिक सेवन गर्ने, क्षमता भन्दा दोब्बर यात्रु बोक्ने लगाएतका कारणले दुर्घटनाको जोखिम बढेको छ । भने सार्वजनिक यातायातमा हुने फोहोरका कारण बातावरण तथा सवारी साधान समेत दुर्घन्धित हुँदै गएका छन् । जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख गंगाराम बि.क ले सवारी दुर्घटनाको जोखिम घटाउनुका साथै चालकहरुको सचेतना अभिबृद्धि गर्ने ध्ययले स्वास्थ्य शिविरको आयोजना गरीएको बताए । ‘हरेक सार्वजनिक यातायातमा अनिवार्य फोहोर मलाई राख्न लगाएका छौ, स्वाथ्य परिक्षण पनि नियमित हुनेछ’ उनले भने, ‘सो अवसरमा आवाश्यक कागजातहरु समेत चेकजाँच हुन्छन्, सुरक्षित र स्वच्छ सहर निर्माण अभियानमा सबै लागी परौ ।’ कर्णाली राजमार्गमा हुने सवारी दुर्घटानामा यँहाका हजारौ नागरीकले ज्यान गुमाइ सकेका छन् ।

शिविरको अवसरमा अधिकांश सवारी चालकहरुले शुरु शुरुमा सहजै आफ्नो स्वास्थ्य परिक्षण मानेका थिएनन् । स्वास्थ्य परिक्षणका बिषयमा धेरै कुरा बुझाउनु परेको थियो । भने कसैलाई दबाब समेत दिनु परेको थियो । स्वास्थ्य परिक्षण गराएका सतप्रतिशत सवारी चालकहरुले नियमित धुम्रपान तथा मध्यपान सेवन गर्ने गरेको पाईन्छ । जसले गर्दा कर्णाली राजमार्गमा चल्ने सवारी चालहरु धुम्रपान तथा मध्यपान लगाएतको कुलतमा लिप्त छन् भन्ने संकेत प्रष्ट हुन्छ । जिल्ला ट्राफिक कार्यालय, यातायात व्यवस्था कार्यालय, नेत्रज्योती संघ (आँखा अस्पताल) र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा स्वास्थ्य शिविर संचालन हुँदै आएको ट्राफिक प्रहरी कुशराज शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस