वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ ९२ लाख रुपैयाँ पर्ने गाडी चढ्छन् । पाँच वडाध्यक्षलाई गाउँपालिका कार्यालयले एक÷एक थान मोटरसाइकल दिएको छ । मोटरसाइकलको मूल्य प्रतिगोटा १ लाख ८० हजार पर्छ । अन्नपुर्ण पोष्टमा समाचार छ ।
तर, जनप्रतिनिधिले विलासी गाडी चढिरहँदा गाउँपालिकामा आगलागी भए निभाउने दमकल छैन । कोही सिकिस्त बिरामी परे अस्पताल पु¥याइदिने एम्बुलेन्स छैन । यो समस्या जगरनाथपुरको मात्र होइन, विन्ध्यवासिनी गाउँपालिकामा पनि उस्तै छ । अध्यक्ष श्रीलाल साह मोदीका लागि ५६ लाख रुपैयाँको गाडी खरिद गरिएको छ । उपाध्यक्ष किरणदेवी गुप्ताका लागि मासिक ९० हजार भाडामा गाडी लिइएको छ । तर, गाउँपालिकासँग न दमकल छ न त एम्बुलेन्स ।
आलागी भइहाल्यो भने १२ किलोमिटर पर वीरगन्ज महानगरपालिकाबाट दमकल मगाउनुपर्छ । आठ किलोमिटर दूरीको पोखरिया नगरपालिकाबाट पनि मगाउन सकिन्छ । पर्सामा एक महागरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् । आठ तहका प्रमुख र उपप्रमुखका लागि सरकारी बजेटबाट लाखौं मूल्यका चारपांग्रे खरिद गरिएका छन् । पाँच तहमा भने (ठोरी गाउँपालिकाबाहेक) गाडी खरिदका लागि टेन्डर आह्वान भइसकेको छ ।
गाडी खरिद नगरिएका ठाउँमा मासिक ८० देखि ९० हजार रुपैयाँ तिर्ने गरी भाडामा लिइएको छ । महानगरबाहेक १३ तहमा सबै वडाअध्यक्षका लागि मोटरसाइकलको व्यवस्था छ । तर, १२ स्थानीय तहले डेढ वर्ष बितिसक्दा पनि दमकल र एम्बुलेन्स खरिद गरेका छैनन् । वीरगन्जमा निर्वाचनअघि किनिएको र चालू अवस्थाका दुई दमकल छन् । महानगरले खरिद गरेको एम्बुलेन्स छैन । पोखरिया नगरपालिकामा दमकल छ, जुन निर्वाचनअघि खरिद गरिएको थियो । आफैं खरिद गरेको एम्बुलेन्स छैन ।
१२ तहमा आगलागी भयो भने वीरगन्ज वा पोखरियाबाट दमकल लैजाने गरिएको छ । ‘गाउँतिर पोखरियाबाहेक अन्त कहीं पनि वारुणयन्त्र (दमलक) छैन’, महानगरपालिकाका अग्निनियन्त्रक शेरबहादुर केसीले भने, ‘गाउँमा आगलागी भयो भने हामीलाई खबर गर्छन् । हामी पुग्दापुग्दै आगोले ठूलो क्षति पु¥याइसकेको हुन्छ ।’
जनप्रतिनिधिले गाडी सुविधा लिए पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक एम्बुलेन्स र दमकल खरिद गर्न बजेट छुट्याएका छैनन् । विकास निर्माणका काममा ध्यान नदिई सेवा–सुविधामा केन्द्रित भएको स्थानीयको गुनासो छ । ‘जनप्रतिनिधि चुनावको वाचा भुलेर आफ्नो सेवा–सुविधामा रमाइरहेका छन्’, सखुवा प्रसौनी–८ का श्याम पटेलले भने ।
ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले भने जनताको सेवा गर्न गाडी आवश्यक नपरेको बताए । ‘गाडी किन्न कम्तीमा ६० लाख लाग्छ तर त्यो रकमले १० वटा कल्भर्ट निर्माण गर्न सकिन्छ’, उनले भने, ‘हामी मोजमस्ती गर्न होइन, जनताको सेवा गर्न चुनिएर आएका हौं । गाडीमा करोडौं खर्च गर्नुभन्दा त्यो बजेट विकास निर्माणमा लगाउने हो भने जनता खुसी हुन्छन् ।’ बोर्ड बैठकमा सदस्यले गाडी खरिद गर्न दबाब दिए पनि आफूले अस्वीकार गरेको उनले सुनाए ।
जगरनाथपुरका अध्यक्ष मियाँले भने अर्को वर्ष दमकल खरिद गर्ने सोच बनाएको बताए । ‘अहिले त वारुणयन्त्र छैन तर अर्को वर्ष तीन गाउँपालिका मिलेर संयुक्त रूपमा खरिद गर्ने सोच बनाएका छौं’, उनले भने, ‘एम्बुलेन्स भने यसै वर्ष खरिद गर्छौं ।’