काठमाडौं । महिला हिंसाविरुद्ध अभियान चलिरहँदा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार औसत प्रहरीमा दैनिक ६ भन्दा धेरै बलात्कारका घटना दर्ता हुने गरेका छन । नँया पत्रिकामा समाचार छ । गत साउनदेखि पुस मसान्तसम्म एक हजार एक सय आठवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार चार सय ८० मुद्दा दर्ता भएका थिए । जसअनुसार अघिल्लो वर्षको तुलनामा बलात्कारका घटना करिब ५० प्रतिशतले वृद्धि भएका छन् । बलात्कारका घटनामा उजुरी दिने प्रवृत्ति बढेकाले संख्या थपिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार साउनमा २०५, भदौमा १९९, असोजमा १९८, कात्तिकमा १८७, मंसिरमा १५३ र पुसमा १६६ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएसँगै महिलामाथि हुने हिंसाविरुद्ध सरकार तथा अन्य निकायबाट अभियान चलिरहेको छ । तर, त्यसयता घटना झन्–झन् बढेका छन् ।
समग्र मुद्दामा सुधार
फौजदारी मुद्दामा अदालतबाट कसुर ठहर गत वर्षको तुलनामा सुधार भएको छ । महान्यायाधिवक्ताको कार्यालयअनुसार गत वर्ष ७१.५९ प्रतिशत मुद्दामा अदालतबाट कसुर ठहर भएको छ । गत वर्षको तुलनामा फौजदारी मुद्दामा प्रहरी र सरकारी वकिलको सफलता बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६९.९७ प्रतिशत थियो । आर्थिक वर्ष ०७२÷७३ मा भने ७४.५७ प्रतिशत पुगेको थियो । जसको तुलनामा पछिल्लो दुई वर्षमा सफलता घटेको छ । महान्यायाधिवक्ता कार्यालयले गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो, जसमा अपेक्षित रूपमा फौजदारी मुद्दामा सफलता प्राप्त गर्न नसकिएको उल्लेख छ ।
बलात्कारका ४६ प्रतिशत मुद्दामा अभियुक्तलाई सफाइ
पछिल्लो समय ठूलो सामाजिक अपराध बनेको बलात्कार घटनामा अदालतबाट करिब आधा मात्र ठहर हुने गरेको छ । आधाले सफाइ पाउने गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदनअनुसार करणी मुद्दामा प्रहरीले दायर गरेकामध्ये ५६.३५ प्रतिशत मात्र सफलता मिलेको छ । पछि पीडितले नै बयान फेर्ने भएकाले धेरैले सफाइ पाउने गरेका छन् ।
गत वर्ष प्रहरीले जबर्जस्तीकरणी उद्योग, अप्राकृतिक मैथुनसम्बन्धी ३ हजार ४ सय १८ वटा मुद्दा अदालतमा दर्ता गरेको थियो । जसमा ३ हजार ९ सय ८८ प्रतिवादी थिए । १ हजार ८३ मुद्दामा १ हजार २२३ जना दोषी ठहर भएका छन् । गत वर्ष फैसला भएकामध्ये ७८० मुद्दामा ८९८ जनाले सफाइ पाएका छन् । बाँकी १ हजार ४ सय ९६ मुद्दाको फैसला हुन बाँकी छ । कतिपय मुद्दामा सहमतिमा सम्बन्ध रहने र प्रतिशोधस्वरूप मुद्दा दायर हुने गरेको छ । जसमा पछि अदालतमा गएर पीडितले बयान फेर्ने गर्दछन् । कतिपय अवस्थामा पीडितलाई धम्की र प्रलोभनमा पारेर बयान फेर्ने प्रवृत्ति रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।