अवरुद्ध नाग्म, गमगढी सडक महिनौपछि सुचारु


अवरुद्ध सडक खुलाउन प्रयोग गरीएको डोजर र कामदार हिँउ पन्छाउँदै । तस्विर ः श्रवणकुमार महतारा ।

नन्दबहादुर रोकाया, मुगु / नन्दराम जैशी, जुम्ला/

लामो समयदेखि अवरुद्ध कर्णाली राजमार्गको नाग्म, गमगढी सडक खण्ड सुचारु भएको छ । लगातारको हिमपात र बर्षाका कारण गत पुस अन्तिमदेखि यो सडक खण्ड अवरुद्ध थियो । सडक डिभिजन कार्यालय जुम्लाले डोजरद्धारा सडकको हिउँ पञ्छाएपछि शनिबार रातिबाट सडक खुलेको हो । महिनौपछि सडक पुन ः संचालनमा आउँदा मुगु र जुम्लाबासी तथा रारा आउजाउ गर्ने पर्यटकहरु खुसी भएका छन् ।

जुम्ला कनकासुन्दरी गाउँपालीकामा रहेको नेपाली सेनाको क्याम्पदेखि झारनाउला भन्ने स्थानसम्म मात्रै करिब ६ किलोमिटर सडक खण्डमा तीन फिट बढि हिँउ जमेको थियो । सडकको हिँउ पन्छाउने काम सकिएपछि नाग्म, गमगढि यातायात सेवा सञ्चालन भएको ब्यवसायी महेन्द्र बुढाले बताए । उनका अनुसार अवरुद्ध सडक खुलेपछि रारा घुम्न गएका पर्यटकहरु फर्किन थालेका छन् । यसअघि सयौँ आन्तरीक तथा बाह्य पर्यटक राराका होटलमै थन्किएका थिए । भने कतिपय दुर्घटनाको जोखीम मोलेर पैदल यात्रा गर्न समेत बाध्य थिए ।

सडकका इन्जीनियर श्रवणकुमार महताराले भने, ‘ठाँउ ठाँउको हिलो र अत्यधिक हिउँ पन्छाएर सडक शुचारु गर्न निकै कठिन भयो, सवारी संचालन भए, तर सडक स्तोरन्नतीको काम अँझै जारी छ ।’ सडक सुचारु भएपनि मौषममा पुर्ण सुधार नआएसम्म मालवहाक गाडी तथा ठुला सवारी नाग्म, मुगु आउजाउ गर्न संभव छैन । साना यात्रुवहाक गाडी संचालनमा आएपनि हिलो र चिप्लो सडकका कारण नेपालगंज, सुर्खेत लगाएत बाहिर जिल्लाबाट खाद्यन्न लिएर मुगु हिँडेका मालवहाक गाडी अँझै बाटोमै थन्किएका छन् । खाद्यन्न बोकेका गाडी बाटोमै थन्किदाँ मुगुमा खाद्यन्न अभाव हुँदै गएको छ ।

जोखिमपूर्ण नाग्म गमगढी सडक

गमगढी–नाग्म सडक खण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ । नाग्म देखि गोठी जिउला हुदै झ्यारीखोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा हिउँद हिउँले बर्षा पानी पर्ने्बित्तिकै हिलो हुन्छ । पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक जुम्लाका बिर्ष थापाले बताए । ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि नाग्म गमगढी सडक कालोपत्रे नहुँदा यो सडक बर्षमा ४ महिना मात्र यातायातका साधन चल्ने र बाँकी महिना सडक बन्द हुने गरेको छ । सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा नागरीकले सास्ती खेप्नु परेको छ । जोखिमपूर्ण सडकका कारण पर्यटकीय गन्तव्य रारा आउने यात्रुले पनि निकै हैरान ब्याहोरी फर्किने गर्दछन । जोखिम पुर्ण सडकले गर्दा एक पटक रारा आएका पर्यटक पुन आउन डराउ छन ।

तपाईको प्रतिक्रिया