परम्परागत योजनाले कर्णालीको विकास गर्न कठिन

सुर्खेत : परम्परागत योजना निर्माणले विकास नहुने कर्र्णालीका स्थानीय सरकार प्रमुखले निष्कर्ष निकालेका छन् । उनीहरूले योजना र बजेट कार्यान्वयनका लागि प्रक्रियागत योजनालाई प्राथमिकतामा राख्न प्रदेश सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिको संयुक्त बैठकले परम्परागत योजना निर्माणले कर्णालीको समृद्धि हासिल नहुने निष्कर्ष निकालेको हो । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समितिका सचिव खड्गराज सेजुवालले भने, ‘कतिपय योजना झ्यालबाट घुसाइएका कारण बजेट कार्यान्वयन गर्न नसकिएको निष्कर्ष रह्यो । अब योजना कार्यान्वयनका लागि टोल, वडा, गाउँपालिका/नगरपालिकाबाट छनोट भएर आएका योजनाहरूलाई बजेटमा प्राथमिकता दिनुपर्छ ।’

चालू आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा गर्दा प्रदेश सरकारले स्थानीय तहको सिफारिसलाई ध्यान नदिएको जनाएको छ । जसका कारण आर्थिक वर्ष सकिन लाग्दासमेत बजेट कार्यान्वयन हुन नसकेको उनीहरूको ठहर छ । आगामी वर्षको बजेट र योजना तर्जुमाका लागि स्थानीय सरकारसँग पर्याप्त छलफल र सहकार्यको व्यवस्था गर्न स्थानीय सरकारले माग गरेका छन् ।

मुख्यमन्त्रीको ध्यानाकर्षण 
बैठकपछि दुवै समितिका प्रतिनिधिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण–पत्र बुझाएका छन् । ‘स्थानीय तहको सभाबाट पारित भएका कार्यक्रमहरूलाई मात्र प्राथमिकतामा राख्न अनुरोध गर्दछाैं’ मुख्यमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण–पत्रमा भनिएको छ । प्रदेश सरकारबाट घोषणा भएका प्रदेश गौरवका आयोजना र केही महत्वपूर्ण कार्यक्रम कार्यान्वयन हुन नसकेकामा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, प्रदेश सरकारले जिल्लामा खोलेका संरचनाले प्रशासनिक खर्च बढाउने र प्रदेशमा बजेट अभाव हुनेतर्फ पनि मुख्यमन्त्रीलाई सचेत गराएका छन् । प्रदेश सरकारले प्रदान गर्ने समपूरक र विशेष अनुदानको कार्यविधि जटिल भएकाले संशोधन गर्न पनि माग गरेको गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भीमबहादुर सेनले बताए ।

प्रतिक्रिया दिनुहोस