यसरी चल्यो बारामा विनाशकारी हावाहुरी


 

काठमाडाैं : जल तथा मौसम विज्ञान विभागका अनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदा बारामा ठूलो हावाहुरी चलेको हो । ‘अरेबियन सागरबाट पश्चिमी वायुसँग पोखरामा विकास भएको स्थानीय वायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवन हुँदै पर्सा–बारातिर चिसो हावा गयो । उता, बंगालको खाडीबाट उत्तर–पश्चिम हुँदै बारातिर तातो हावा आयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमी वायु पोखरामा विकास भएको स्थानीय चिसो वायु र बंगालको खाडीबाट आएको वेग युक्त वायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’

विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै घटनाप्रति विभागले दुःखव्यक्त गरेको छ । नेपालजस्तो जटिल भु-बनोट भएको देशमा विपद क्षेत्र र ठाउँ तोक्की पूर्वअनुमान गर्न गाह्रो हुने बताउँदै विभागले प्रविधि र जनशक्ति अभाव हुँदा पूर्वानुमान गर्न नसकिएको जनाएको छ । मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्र कमी हुँदा पूर्व अनुमान गर्न नसकिएको विज्ञप्तीमा उल्लेख छ ।

-मौसम विज्ञान विभागद्वारा दुःख व्यक्त, परिवारप्रति समवेदना, घाइतेको स्वास्थ्य लाभको कामना

 -विभाग भन्छ, ‘अहिलेको प्रविधिबाट हुरी, हिउँ, असिना, चट्याङको पूर्वानुमान गर्न सकिन्न’

जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको थियो । तर, आइतबार साँझ मध्य तराईका बारा र पर्सामा असिना–पानी मात्रै परेन, ठूलो जनधनको क्षति पुग्ने गरी भीषण हावाहुरी नै चल्यो ।

वर्षाको पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागले हावाहुरीको पूर्वानुमान गर्न सक्दैन ? विभागका महानिर्देशक सुर्जकुमार वैद्य भन्छन्, ‘हावाहुरी, असिना, हिउँ, चट्याङको पूर्वानुमान गर्ने मौसमी राडार र बेलुन सञ्चालन गर्नै सकिएन । हामी तापक्रम र वर्षाको मात्रै पूर्वानुमान गर्न सक्ने हैसियतमा छौँ ।’

हावाहुरीको समेत पूर्वानुमान गर्न सक्ने एउटा राडार नेपालसँग छ । तर, सञ्चालनमा छैन । सो राडार पाल्पामा स्थापना गर्न ठेकेदार कम्पनीलाई संरचना निर्माणको जिम्मा दिइए पनि काम नसकिएको महानिर्देशक वैद्यले बताए । यस्तै, सुर्खेत र उदयपुरमा राडार राख्ने  स्थानको पहिचानमात्रै गरिएको छ । एउटा राडार सञ्चालनमाल्याउन ३० करोड खर्च लाग्छ ।

‘राडार सञ्चालनभएहावाहुरी चल्नुभन्दाएक–दुई घन्टाअघि नै पूर्वानुमान (नाउकास्ट) गरेर ठूलो क्षतिबाट बच्न सकिन्छ,’ महानिर्देशक वैद्यले भने ।

कीर्तिपुरमा बेलुनबाट हावाको गतिपूर्व अनुमान गर्ने बेलुन परीक्षण भएको थियो । तर, अत्यधिक महँगो भएपछि नियमित गर्न नसकिएको वैद्यले बताए ।‘प्रविधिसहित जडान गरिएको सेन्सरयुक्त बेलुन बिहान ५:४५ र बेलुका ५:४५ बजे दुईपटक उडाउनुपर्छ,’ वैद्यले भने, ‘प्रविधिसहित जडान गरेको बेलुन एकपटक उडाउँदा २० हजार जति खर्च हुन्छ ।’ तर, सेन्सर युक्त बेलुनको डाटाका आधारमा गरिने पूर्वानुमान विश्वभर नै उत्कृष्ट मानिने उनले बताए ।

आइतबार हावाहुरी चल्ने पूर्वानुमानथिएन
मीनकुमार अर्याल
मौसमविद्

आइतबार पनि पूर्वानुमान शाखाको मौसमको पूर्वानुमान मैले नै गरेको थिएँ । प्रिमनसुनमा हावाहुरी चल्ने, मेघ गर्जन हुने, हावाहुरी थोरै चल्ने जस्तो देखिएको थियो । त्यसलाई स्वाभाविक ठानियो । हावाहुरीको पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नहुँदा ठूलो मानवीय क्षति भयो ।

https://www.nayapatrikadaily.com/news-details/10222/2019-04-02

तपाईको प्रतिक्रिया