
नन्दराम जैशी,
जुम्ला । जुम्ला विमानस्थल २० दिनका लागि बन्द भएको छ । स्तरोन्नतिका लागि विमानस्थल बन्द गर्ने निर्णय कार्यान्वयन गरीएको हो । मंगलबार बेलुकादेखि जुम्लामा भईरहेको बर्षा र हुस्सुका कारण आज दिनभर विमानस्थल खुल्ने संभावना देखिँदैन । आजका लागि मात्र अवतरण खुला गरीएको विमानस्थलमा हावा, बर्षा र हुस्सुले गर्दा जहाज अवतरण गर्ने संभावना नरहेको विमानस्थलले जनाएको छ ।
विमानस्थल बन्द गरीएको र अब स्तरोन्नतिको काम शुरु हुने विमानस्थल प्रमुख कैलाश शर्माले बताए । उनका अनुसार अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिको आधा काम गरीएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्न पुन ः विमानस्थल नै बन्द गर्नुपरेको हो । विमानस्थल जीर्ण हुँदै गएकाले स्तरोन्नति गरेर सुरक्षित बनाइने ध्येय छ । विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम भएको छैन । केहिदिन यता जहाज अवतरण हुनुभन्दा अघिपछि विमानस्थलको स्तरउन्नति भइरहेको थियो । तर त्यसरी समयमै काम नसकिने र गुणस्तर नहुने देखिएपछि विमानस्थल नै ठप्प गर्नु परेको उनले बताए ।
विमानस्थलको रनवे र पार्किङतर्फ घास उम्रनेदेखि पहिले गरेको कालोपत्रे उप्किसकेकाले स्तरउन्नति गर्न लागिएको छ । विमानस्थल स्तरउन्नतिका लागि चाहिने कामदार र निर्माण सामग्री ब्यवस्थापन भईसकेको छ । विमानस्थल बन्द भएपछि जुम्लादेखि सुर्खेत, नेपालगञ्जसम्मको हवाई सेवा प्रभावित भएको छ । जुम्लामा तारा, सीता, समिट र नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने गरेका छन् ।