हराउँदै हुड्के नाच र पञ्चेबाजा


नन्दराम जैसी,

जुम्ला । कर्णालीमा हुने विवाहबर्तन तथा विभिन्न सभासमारोहमा बजाइने पञ्चेबाजासँगै हुड्केनाच हराउँदै गएको छ । पछिल्लो समय विवाहबर्तन तथा विभिन्न सभासमारोहमा पञ्चेबाजासँगै हुड्केनाचको माग हुन छाडेपछि यो लोप हुनथालेको हो । बजारमा सजिलै उपलब्ध आधुनिक गित संगित र बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृती हराउन थालेका छन् । केहि बर्षपहिले हुने विवाहबर्तन तथा विभिन्न सभासमारोहमा अनिवार्य जस्तै बनेको हुड्केनाच र पञ्चेबाजाको अहिले माग घट्दै गएको छ ।

कर्णालीको मौलिकता झल्काउने हुड्केनाच र पञ्चेबाचा बजाउने सीप पछिल्लो पुस्तालाई हस्तान्त्रण नहुनु र नँया पिँढीले समेत सिक्न नचाहाँनुले हुड्केनाच हराउँदै गएको हो । विभिन्न शुभ कार्यमा प्रयोग हुने हुड्केनाच र पञ्चेबाजाको सट्टा आधुनिक तथा पश्चिमेली गित संगितले ठाँउ पाउन थालेका छन् । पञ्चेबाजामा पर्ने नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोगले हुड्के नाच्ने गरीन्छ । तर यतिबेला गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीय स्तरमा हुने गरेको भए पनि यतिबेला त्यस्ता खालका बाजा बनाउने सीप तथा हुड्के गाउने कला भएका मानिस भेटाउन मुस्किल छ ।

तर पछिल्लो समय हुड्केनाच र पञ्चेबाजा संकटमा पर्न थालेपछि यसको संरक्षण र प्रर्वद्धनमा स्थानिय सरकार लागिपरेको छ । तातोपानी गाउँपालिकाले यसको संरक्षणका लागि कार्यविधि नै तयार पारेको हो । गाउँसभा मार्फत पञ्चेबाजा संस्कृति संरक्षणका लागि पाँच लाख विनियोजन गरीएको छ । अध्यक्ष नवराज न्यौपानले भने, ‘यसले परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड पुग्नेछ, भने रीतिरिवाज, चालचलन र संस्कृतिको उत्थान हुनेछ ।’ उनका अनुसार पञ्चेबाजा संरक्षण र प्रवद्र्धनका लागि दमाई जाती बसोबास गर्ने वडामा संचालक समिति समेत गठन हुनेछ । हुड्के तथा बञ्चेबाजाको टोलीलाई आवश्यक पर्ने पहिरन र वार्षिक रकम उलब्ध गराउने पालिकाले अनुमोदन गरेको कार्यविधिमा उल्लेख छ । स्थानीय सरकार नै पञ्चेबाजाको संरक्षणमा जुट्ने तातोपानी कर्णाली प्रदेशकै पहिलो स्थानीय तह हो ।

गाउँघरका बुढापाका, केहि स्थानियबासी र पर्यटकहरु हुड्के नाच र पञ्चेबाजाप्रति खुबै आकर्षित देखिन्छन् । तर यसको प्रर्वद्धन हुन सकेको छैन । हुड्केनाच, ढालनाच, मागल, चुटकिला जस्ता जातिय तथा क्षेत्रिय पहिचान बोकेका कर्णालीका मौलिक कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व घट्दै गएको छ । यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न स्थानीय सरकार गम्भिर रुपमा लागेमा यस आन्तरीक तथा बाह्रय पर्यटक समते बढाउन सकिने युवा जयप्रसाद गौतमको भनाई छ ।

के छ, महत्व ?
हुड्के नाच कर्णालीमा मात्रै नाचिने संस्कृित हो । दमाई जातसँग आधारित यो नाच कर्णालीमा निकै रुचाइन्छ । अझ विवाह, छोरो जन्मिँदा, विशेष खुसीको अवसर हुँदा हुड्के नल्याई स्थानीय रमाइलो नै मान्दैनन् । त्यसैले पनि हुड्केको आफ्नै महत्व छ । परम्परा, संस्कृतिसँगै कर्णालीको हुड्के नाच राम्रो आम्दानीको एक स्रोत पनि हो । यो नाच्न जान्ने निमन्त्रणा आँउदा सिधै ज्याला निर्धारण गरे जान्छन् । कम्तीमा पनि एक दिनमा खाना खाएर १ हजार ज्याला लिन्छन् । हुड्के नाच्दै आएका तिला–३ का हस्त दमाईका अनुसार कुनै विशेष अवसरमा जाँदा कम्तीमा पनि १०÷१५ हजार कमाइ हुन्छ । यो उनको पुख्र्यौली सीपमा आधारीत पेशा पनि हो ।

कसरी नाचिन्छ हुड्के ?
हुड्के नाच्न एकजनाले सम्भव छैन । कम्तीमा पनि ७ जना अनिवार्य हुनैपर्दछ । जसमा गीत गाउन सिपालु दुई जना उठेर नाच्ने, गीत गाउने गर्नुपर्छ । भने एक जना मादल बजाउने, कम्तीमा पनि ४ जना भाका छोप्ने गरी ७ जना हुनैपर्छ । गाउन तथा नाच्न जान्ने एक जनाको कमी भएमा हुड्के नाच प्रभावित हुन्छ । हुड्के नाच्दा सेतो कपडाले बनेको आँगा, शिरमा फेटा, कम्मरमा पेटी, चश्मा, खुट्टामा चाम लगाईन्छ । हातमा बाख्राको छालाले बनाइएको हुड्को समातेर नाचिन्छ । गाउँदा हुड्को कानमा लगाएर ताल मिलाएर गाउने गरीन्छ । हुड्के नाचका लागि जुम्लाका तातोपानी, रारा, सिञ्जाको जाँच र गोरा निकै प्रख्यात ठाउँहरू हुन् । भने कर्णालीका कालिकोट र मुगुमा पनि हुड्के नाचिन्छ । तर पछिल्लो समय नाच्ने कलाकार पाउनै गाह्रो भइसकेको अवस्था छ ।

तपाईको प्रतिक्रिया