चन्दननाथ भैरवनाथ गुठीको जग्गा अतिक्रमण, सरोकारवाला मौन

कर्णाली पोष्ट दैनिक,

जुम्ला ः चन्दननाथ भैरबनाथ गुठी ब्यवस्थापन समिति जुम्लाको नाममा रहेको खेतीयोग्य जमिन अतिक्रमण हुँ्दै गएको छ । पटक पटक सरकारी तथा निजि क्षेत्रबाट गुठीको जग्गा अतिक्रमण हुँदै गएको हो । जिल्लाभित्र र जिल्लाबाहिरका विभिन्न ठाँउमा रहेको गुठीको जग्गा अतिक्रमणको चपेटामा परेपछि कहाँ कति जग्गा छ, भन्ने पनि एकिन छैन । जुम्लाको गज्र्याङकोट, देपालगाँउ, बियाँरे, महतगाँउ, तलिउम, कुडारी, डाँडाकोट, राजिकोट लगायत कालिकोटको राजकोट, मुगुको नागथार्प, बाजुराको कोल्टी र हुम्लामा समेत चन्दननाथ गुठीको जग्गा छ । तर जिल्ला बाहिरको सबै जग्गा अतिक्रमण भइसकेको छ । भने जिल्लाभित्रको समेत अधिकांश गुठीको जग्गा अतिक्रमणमा परेको छ । केहि बर्षअघि हजारौँ हेक्टरमा रहेको गुठीको जग्गा अतिक्रमणमा पर्दै गएपछि हाल ७४ हजार २ सय ९४ बर्गमिटरको सेराज्युलो मात्र गुठीको नाममा रहेको छ । चन्दननाथ बाबाले मार्सी धानखेती शुरु गरेको किंवदन्ति रहेको यस सेराज्युलो र आसपासको जग्गा समेत यतिखेर अतिक्रणको चपेटामा परेको छ । यस बिषयमा जिल्लाका सबै सरोकारवाला भने मौन छन् । २०३६ सालमा स्थापना भएको गुठी ब्यवस्थापन समितिमा ३९ बर्षको अवधिमा ११ जना अध्यक्ष समेत नियुक्त भइसके तर कुनैपनि अध्यक्षको पालामा गुठीको जग्गा खोजीनीति भएन । बरु समितिको लापारवाही र हेलचक्राईले गर्दा विश्वमै पुरातात्तिक इतिहाँस बोकेको प्रसिद्ध चन्दननाथ, भैरबनाथ मन्दिरमा धर्मको नाममा बारर्गेनिङको ब्यापार मौलायो । सोहि कारण हजारौँ बर्ष पुराना धातुका मूर्तिहरु समेत चोरी भए । चोरीकाण्डमा अहिले मन्दिरका पुर्व मुख्य पुजारी चन्द्रमैले श्वर र गुठीको पुर्व अध्यक्ष जयकृष्ण आचार्य कैद भुक्तान गरी जेल बाहिरी सकेका छन् ।
कसरी भयो, अतिक्रमण
जिल्लाका विभिन्न ठाँउमा रहेको अरबौ मुल्यको गुठीको जग्गा अतिक्रमण भएको छ । चन्दननाथ ३ का जैसिंह सार्कीले स्थानीय एक ब्यक्तिलाई नेपाली सेनाको ब्यारेक नजिक रहेको गुठीको खेतीयोग्य दुई रोपनी जग्गा बेचेका छन् । बर्षौदेखि जमिन उपभोग गर्दैआएका उनले मालपोतका कर्मचारीसँगको मिलोमतोमा गुठीको जग्गा बेचेको समितिले दावी गरेको छ । सोही ठाँउमा स्थानीय डङसे सार्कीले खाँदै आएको दुई रोपनी गुठीको जग्गा नेपाली सेनाले अतिक्रमण गरेर मुअब्जा दिदाँ समेत गुठीले पत्तो पाएन । तर अहिले मुअब्जा गुठीले पाउनुपर्ने भन्दै समितिले उजुरी दिएको छ । स्थानीय महाशंकर देबकोटाले नयाँ बसपार्क नजिक रहेको गुठीको चार रोपनी जग्गा ब्यक्तिगत नामसारी गर्नखोजे ेपछि दशकौँ देखि सर्बोच्चमा मुद्धा छ । सेराज्युलाको छेउमा घर निर्माण गरिएको गुठीको जग्गा आफ्नो भन्दै नव गिरीले मुद्धा गरेपछि जिल्ला अदालतले उनलाई जितायो, तर उच्च अदालतले भने गुठीको पक्षमा फैसला गरेपछि बिवाद कायमै छ । सेराज्युलो नजिकै विर श्रेष्ठ र विष्णु श्रेष्ठको घर समेत गुठीकै जग्गाभित्र पर्ने समितिको दावी छ । गुठीको जग्गामै काली दमाईको नाममा जनता आवास कार्यक्रमबाट घर निर्माण भएको छ । गुठीको जग्गा अतिक्रमण गरेर खेलकुद विकास समितिले समेत आफ्नो नाममा लिईसकेको छ । त्यस्तै गुठीकै जग्गामा जिल्ला उद्योग बाणिज्य संघ, कर्णाली खष संग्रहलय र नगरपालिकाद्धारा पार्किङ निर्माण गरिएको छ । भने जिल्ला अदालतको भवन समेत निर्माण हुँदैछ । गुठीलाई नसोधी गुठीकै जग्गामा जिशिका र नगरपालिकाले समेत सडक काटेका छन् । भने देपालगाँउ र गज्र्याङकोट स्थित गुठीको जग्गा अतिक्रमण गरी चारवटा पिलरवाला पक्किघर ब्यक्तिको नाममा निर्माण भएका छन् । यसरी गुठीको जग्गामा बढ्दो अतिक्रमणले कहाँको जग्गामा के भइरहेको छ, भन्ने कुनै अत्तोपत्तो छैन ।
समितिको आर्थिक पारदर्शिता छैन
गुठीको नाममा अहिले पनि मासिक लाखौँ कमाई हुने चल सम्पति मात्रै छ । ब्यापारिक प्रयोजनका लागि बनाईएका ३५ वटा टहराबाट प्रतिटहरा मासिक तिन हजार देखि सात हजारसम्म भाडा आउन्छ । करीब ४८ हजार बढि क्षेत्रफलको सेराज्युलो पनि लिजमा छ । लिजको जग्गामा स्याउ तथा तरकारी खेती भइरहेको छ । टहरा र लिजको जग्गाबाट आउने भाडा र मन्दिरमा चडाउने भेटी, दान गरी बार्षिक ६० लाख बढि गुठिलाई आम्दानी हुन्छ । त्यस्तै मन्दिरको संरक्षण प्रर्वद्धनका लागि भन्दै विभिन्न निकायबाट सहयोग भईरहेको छ । तर गुठीको बार्षिक एकिन आय ब्यय बारे कसैलाई थाहाँ छैन । नत यसबारे सार्वजनिक सुनुवाई नै हुन्छ । नत गुठीको खातामा रकम हुन्छ । यदि खातामा रकम भएपनि केन्द्रिय गुठी संस्थानले तानेर लिने गरेको स्थानीय रमानन्द आचार्यको भनाई छ । यता गुठीले धर्मको नाममा ब्यापार गरेर लाखौँ घोटाला गरेको नागरिकको आरोप छ । गुठीका प्रशासन प्रमुख रत्नप्रसाद आचार्यले सार्वजनिक सुनुवाई नगर्नुमा गुठीको कमजोरी भएको स्विकार छन् । ‘आय ब्ययको हिसाब स्पष्ट राख्छौँ, लेखा परीक्षण पनि हुन्छ’ उनले भने, ‘तर सार्वजनिक सुनुवाई नभए पनि गुठीको आय, ब्यय बराबर छ ।’ उनका अनुसार समयमै लिजको जग्गाबाट भाडा नआँउदा गुठी संचालनमा सकस छ ।
कहाँ जान्छ, रकम
गुठीले आम्दानी गर्ने लाखौँ रकमबाट नै मन्दिरमा दैनिक पुजाआजा तथा गुठी संचालन हुन्छ । चन्दननाथ मन्दिरका मुख्य पुजारी रमेश न्यौपाने लगायत ७ जना पारिश्रमिक खाने कर्मचारी छन् । मुख्य पुजारी न्यौपानेले मात्रै मासिक १५ हजार बुझ्छन् । भने सातै जनाले गरी बार्षिक १२ लाखसम्म पुजारी तथा कर्मचारी पारिश्रमिकमा खर्च हुन्छ । त्यस्तै गुठीको सेराज्युलोमा मार्सीधान लगाँउदा देखि संकलन गर्दासम्म ज्यामी तथा पानी तान्ने जेनेरेटर खर्च बार्षिक ५ लाख हुन्छ । गुठी प्रशासनका अनुसार अन्य लाखौँ रकम मन्दिरको संरक्षण, टहरा मर्मत तथा निर्माण, दैनिक पुजाका सामाग्री, खाना र मन्दिरको भोक लगाँउदा खर्च हुन्छ । यस्तै मासिक पुजामा ५० केजिबढि गाईको शुद्ध घ्यु, तीन पेटिबढी तोरीको तेल, सर्यौ लिटर दुध, मैदा तथा आटामा रकम खर्च हुने गरेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस