सर्वसाधारणको पहुँच पुगेन होमस्टे कार्यक्रम


जुम्ला ः कर्णाली प्रदेश सरकारले जुम्लाको तीन स्थानीय तहका चारवटा वडामा होमस्टे सञ्चालनका लागि एक करोड रुपैया बिनियोजन गरेको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाको बोतामालिका, हिमा गाउँपालिकाको बड्की र तातोपानी गाउँपालिकाको ऐरेनी र तातोपानीमा होमस्टे सञ्चालनका लागि बजेट ब्यवस्था गरेको हो । भु तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्ला मार्फत होमस्टे सञ्चालन प्रक्रिया अघि बढ्यो । बैशाख १९ गते सम्म होमस्टे सञ्चालनको लागि प्रस्तावना पेस गर्ने समय सिमा थियो । त्यो अवधिमा चारवटा संस्थाले होमस्टे सञ्चालनका लागि प्रस्तावना पेस गरेका छन् । कनकासुन्दरी गाउँपालिकाको बोता बाहेक तीन वटै स्थानमा होमस्टे सञ्चालनका लागि पहुँचवालाकै हालीमुहाली देखियो ।
तातोपानीको ऐरेनीमा सञ्चालन हुने भनिएको होमस्टे सञ्चालन गर्न गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्याय श्रीमान दिपक प्रसाद उपाध्याय नै अध्यक्ष भएर प्रस्तावना पेस गरिएको भेटियो । जसमा सचिव पुर्व पशुपंक्षी राज्यमन्त्री गोमा कुँवर छन् । जनप्रतिनिधिका पति र पुर्ब राज्यमन्त्रीले नै आफु अनुकुलको समिति बनाएर कसैलाई जानकारी नदिएर प्रस्तावना पेस गरेपछि स्थानीय आक्रोशित छन् । गाउँमा सिंहदरवार पुगेको भनिदै आएको छ तर गाउँमा कसैलाई जानकारी नदिएर बिचौलियाले बीचमै आफु अनुकुलको निर्णय गरेर कार्यक्रम सञ्चालन गर्छन्, तातोपानी गाउँपालिका २ का गोविन्द दमाईले भने । कसरी सर्वसाधारण नागरिकको दैनिकी बदलिन्छ । समाजको नेतृत्वकर्ताले नै आफ्नो अनुकुलमा काम गर्न थालेपछि सरकारले भने जस्तो सुखी नेपाली समृद्ध नेपालको नारा कसरी साकार हुन्छ ?
सम्वन्धित स्थानीय तहमा दर्ता भएको होमस्टेले मात्रै प्रस्तावना दिन पाउने ब्यवस्था छ । उनले भने,‘ होमस्टेका बारेमा कसैलाई जानकारी नदिईकन नेतृत्वकर्ताले नै जनविरोधी कार्य गर्न थालेको प्रति दुखि छौँ । तातोपानीमा सञ्चालन हुने होमस्टेका अध्यक्ष तातोपानी पर्यटन बिकास केन्द्रका अध्यक्ष नबराज बुढा छन् । उनले पनि आफ्नो अनुकुलको समिति निर्माण गरेर प्रस्तावना दिएका छन् । एक स्थानीय भन्छन्, गाउँमा सबै अधिकार आयो भन्छन्, तर अधिकार बीचैमा खोसिएको कैसले सुन्दैनन् । बास्तविक जनमैत्री कार्यलाई प्रवद्र्धन गर्नेको अभाव छ ।
 वडामा तालावन्दी
हिमा गाउँपालिकाको बड्कीमा पनि होमस्टे सञ्चालनको बिषयमा बिवाद छ । पहुँचका आधारमा एकलौटी रुपमा आफ्नो परिवारलाई मात्रै केन्द्रित गरेर सरकारी रकमको दुरुपयोग गर्न खोजिएको स्थानीयको आरोप छ । उनीहरुले गाउँमा आएको होमस्टे कार्यक्रममा समावेशी प्रतिनिधित्व नभएको भन्दै दुई दिन अघि वडा कार्यालयमा ताला लगाएका छन् । आफु अनुकुलको मन्त्री भएकोले बिकास पनि आफ्नो पहलमा आएको भन्दै एकलौटी निर्णय गरेर कार्यक्रम सञ्चालन गर्न खोज्छन्, एक स्थानीयले भने, यो राजनैतिक दलका नेता कार्यकर्ताबाटै बिक्रिको थिति हो ।
भू तथा जलाधार कार्यालयमा उजुरी
बड्की गाउँका स्थानीयले एकलौटी एकै परिवारका सदस्यहरुको उपभोक्ता समिति गठन गरेको आरोपमा भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा उजुरी दिएका छन् । अन्य सर्वसाधारणलाई जानकारी नदिएर पहुचवालाले आफुखुरी होस्टेन सञ्चालन समिति गठन गरेको आरोप उजरी दिएका हुन् ।
अहिले होमस्टेको विषयलाई लिएर तातोपानी गाउँपालिकाको वडा नम्बर ५ र ६ बीच विवाद छ । बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठ जुम्लामा सञ्चालन गर्न लागिएको चार वटा होमस्टेमा तीन वटामा निकै चर्को बिवाद आईरहेको बताउँछन् । उनले भने, होमस्टे सञ्चालन गर्न सम्वन्धित स्थानीय तहमा दर्ता हुनुपर्छ, दर्ता भएपछि मात्रै योग्य ठहरिन्छ । प्रत्येक स्थानीय तहमा प्रस्तावना पेस गर्ने बारे सुचना टाँस गरेका छौँ । पहुँचवालाले पेस गरे वा सामान्य किसानले गरेको बिषयमा छलफल भईरहेको छैन् । पछिल्लो समयमा भईरहेका विवादले होमस्टेलाई सामान्य किसानमैत्री बनाउन प्रेरणा दिन थालेको छ ।
तातोपानी ऐरेनीको हकमा वडा नम्बर ५ र ६ दुबै वडाको सिफारीस आवश्यक हुन्छ । तर ५ नम्बर वडाले अहिले सम्म सिफारिस दिन मानेको छैन् । एक आपसमा विवाद भएकोले समस्या छ । ५ नम्वर वडाको सिफारीस बिनै अघि बढ्न नसक्ने अवस्था छ । जलाधार ब्यवस्थापन अधिकृत श्रेष्ठले भने पर्यटनको सेवा सुविधा ठुलो होटलले मात्रै नभई सामान्य किसानले पनि लाभ लिउन भन्नका लागि होमस्टेको अवधारणा अघि सारिएको हो । यो प्रकृतिको होमस्टेमा बाहिरको खानेकुर किन्नु पर्दैन्, घरमा फलेको, समुदायमा रहने, आफैले उत्पादन गरेको बस्तुको प्रयोग हुन्छ । यो सामाजिक आर्थिक पहिचान गर्ने राम्रो माध्यम हो । यसमा सामान्य किसान नै लाभान्वित हुनु पर्छ भन्ने मान्यता हो । तर गाउँमा कसरी दर्ता भईरहेका छन् भन्ने बिषयमा खासै चासो गएको पाईदैन् ।
तातोपानीमा होमस्टेमा बसेको ब्यक्ति ४ नम्वर वडाको र तोकिएको स्थान वडा नम्वर ५ र ६ को भएकोले समस्या आएको हो । स्थानीयले गाउँमा आउने बिकास बजेटको हर हिसाव किताव माग्नु पर्ने बेला आएको बताउँछन् । बड्की र बोताको लागि २५÷२५ लाख रुपैया आएकोमा तातोपानी र ऐरेनीका लागि ५० लाख रुपैया बजेट आएको छ ।

तपाईको प्रतिक्रिया