
काठमाडौं । जुम्लाको गुठिचौरस्थित राष्ट्रिय भेंडाबाख्रा अनुसन्धान कार्यक्रमको जग्गा हिनामिना प्रकरणमा मुछिएका ११ जनालाई सात दिनभित्र उपस्थित हुन अख्तियारले निर्देशन दिएको छ । अख्तियारले गुठीचौरको ५९० रोपनी जग्गा अतिक्रमणबारे छानबिन प्रक्रिया जारी राख्दै ११ जनालाई ७ दिनभित्र काठमाडौं बोलाएको हो ।
तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले आफ्नी पत्नी र छोरीसहित नातागोताका नाममा ५९० रोपनी सरकारी जग्गा पास गराएका थिए । जसको खुलासा अनलाइनखबरले गरेको थियो ।
तर, अख्तियारको सातदिने सूचनामा तत्कालीन मालपोत अधिकृत न्यौपानेको नाम भने छैन । अख्तियारले उनकी श्रीमती गोमा न्यौपाने, छोरी पार्वती न्यौपाने, कविदत्त न्यौपाने, केशवराज न्यौपाने, नवऋषी न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, विष्णुऋषी शर्मा न्यौपाने, विष्णुलाल न्यौपाने, विष्णु न्यौपाने, मायालाल न्यौपाने र जानकीदत्त देवकोटालाई सात दिनभित्र अख्तियारमा हाजिर हुन भनेको छ । जानकीदत्त गुठिचौर गाउँपालिका(५ का बासिन्दा हुन् भने अरु सबै वडा नम्बर ४ का हुन् ।
अख्तियारले उनीहरु सात दिनभित्र हाजिर नभए ‘कानुनबमोजिम हुने’ चेतावनी पनि दिएको छ । जुम्लाको साविक गुठिचौर गाविस(६ को कित्ता नम्बर ३ को ५९० रोपनी अर्थात् करिब ४५ बिघा सरकारी जग्गा न्यौपानेले आफन्तको नाममा पास गराएको उजुरी ०७३ सालमा अख्तियारमा परेको थियो । न्यौपाने हाल सेवा निवृत्त भइसकेका छन् ।
अख्तियारले गुठिचौरको जग्गा प्रकरणमा मुछिएका केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले गुठिचौर जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । सहसचिव कोइरालाले अनलाइनखबरसँग भने, ‘जुम्लाको सरकारी जग्गा हिनामिनाको विषयलाई अख्तियारले प्राथमिकतामा राखेको छ । यी अन्तिम चरणका कारबाही हुन् ।’ अनलाईन खबरबाट ।