जुम्लामा कालीमार्सीको रोपाईं सुरु

कर्णाली पोष्ट दैनिक

जुम्ला । कालीमार्सी धानको रोपाईं सुरु भएको छ । जुम्लाभर रोपाईं सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङ्कोट र पानसयमा स्थानीय काली मार्सी र राती मार्सीको रोपाइँ धमाधम हुँदै छ ।
जिल्लाको तल्लो क्षेत्रमा जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाईं गर्ने चलन छ । सिंजा, पानसय र चौधविस गरी तीन क्षेत्रमा विभाजित जुम्लामा जेठ पहिलो साताबाट रोपाईं सुुरु भएको हो । सदरमुकाममा भने खेतीयोग्य जमिनमा घर बनाउने क्रम बढेपछि रोपाईंको रौनकता देखिएको छैन ।

पछिल्लो समयमा मार्सी धानको चामलले बजार पाएपछि किसानमा मार्सी रोपाईंमा जागरण आएको छ । निकै संघर्ष गरेर उत्पादन हुने मार्सी चामलको बजार प्रशस्त भएपछि अहिले मार्सीको क्षेत्र विस्तार भएको छ । रोपाईंको समयमा यहाँका किसानले रमाइलो गरेर धान रोप्ने चलन छ । कृषकले एक अर्काको रोपाईंमा रोेप्नेरी, हली र गोरुसहित अ‍ैंचोपैंचो दिने चलन छ । हरेक किसानले रोपाईंको मिति अगावै तोकेका हुन्छन् ।
चिसो मौसमका कारण समयमै धान नरोपेमा समयमा नपाक्ने भएकाले यहाँ जेठ महिनाको पहिलो साताबाटै रोपाइँ सुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । यसैगरी कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा रोपेको धान भिœयाउने हुन्छ ।

यहाँको धान उत्पादन कम हुने भए पनि निकै पोषिलो मानिन्छ । विभिन्न गीत गाउँदै रोप्ने र नाच्ने चलन पनि छ । यहाँ कसैको विवाह र बच्चा भएको समयमा खेतमा चोपाईं गर्ने चलन पनि छ । जसलाई स्थानीय भाषामा चोपाइँ भनिन्छ । जुम्लाको पातारासी गाउँपालिकाको समुद्र सतहदेखि २८ सय ५० मिटर उचाईमा रहेको छुमचौर ज्यूलोमा जेठ १३ गते धान रोपाई महोत्सवको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । “यो विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान हो,” उनले भने, “पर्यटक पर्वद्धनका लागि रोपाईं महत्सव आयोजना गरिएको हो ।”

अन्य ठाउँमा धान रोपिसकेपछि पातारासी क्षेत्रको छुमचौरमा महोत्वससँगै धान रोप्ने चलन छ । यो वर्ष राष्ट्रिय कलाकारसहितको उपस्थितिमा पातारासी गाउँपालिकाले धान महोत्सव गर्न लागेको हो । कृषि ज्ञान केन्द्र जुम्लाका अधिकृत बालकराम देवकोटाका अनुसार जुम्लामा २८ सय हेक्टरमा धान खेती हुने गरेको छ । यहाँको रैथानी कालीमार्सी धान ४० प्रतिशत रोप्ने गरिन्छ भने ६० प्रतिशत उन्नजातको धान रोप्ने गरेको तथ्यांक छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले सिफारिस गरेको चन्दननाथ १ र चन्दननाथ ३ नामको उन्नतजातको धान रोप्ने गरिएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस