जुम्लामा कालीमार्सी रोपाई, नगरप्रमुख र सिडिओ रोप्नेरी


कर्णाली पोष्ट दैनिक
जुम्ला ः सामान्यतया अन्य जिल्लामा असारमा मात्रै धान रोपिने भएपनि जुम्लामा भने जेठमै धान रोप्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने गरिएको हो । यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । यसैगरी शनिबार नेपालकै प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा (खेत) ज्यूलोमा रोपाई सुरु गरिएको छ ।

जुम्लाको सदरमुकाम खलङ्गा स्थिल चन्दननाथ भैरवनाथ बाबाको ३५ हजार बर्गमिटर खेतमा रोपाई सुरु गरिएको हो । शेरा खेतमा रोपाई गर्नका लागि चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे रोपाहा (रोप्नेरी) का रुपमा अघि सर्नु भएको छ । चन्दननाथ सहकारीको आयोजनामा रोपाहा जुटेर शेरा खेतमा रोपाई गरिएको हो । चन्दननाथ नगरपालिका प्रमुख कातिन्का सेजुवालका अनुसार कालिमार्सी धान र चन्दननाथ भैरवनाथ मन्दिर जुम्लाको मात्र नभएर नेपालकै पहिचान हो । यसलाई जोगाउनु हामी स्थानीय जनप्रतिनिधि देखि अन्य सरोकारवालाको भुमिका महत्वपुर्ण हुन्छ । कालीमार्सी धानसँग हामी जुम्ली पहिचान जोडिएरले यसको संरक्षण सम्र्वद्धनका सबैले हातेमालो गरी रोपाईको आयोजना गरिएको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पनि खेतमा रोप्नका लागि तम्तयारी भइन् । अरु रोप्नेरीसँगै रोपिन् । यहाँको कालीमार्सी धान(चामल) नेपालका ठुला शहरमा बढ्दो माग छ उनले भनिन् यसमा पोष्टिक तत्व बढी नै छ । मार्सीको संरक्षण सम्र्वद्धन गरी जोगाउनु पर्ने उनको सुझाब छ । कृषि विज्ञ बालकराम देबकोटाले भने, ‘धान रोपेपछि पाक्नलाई आवश्यक पर्ने एक सय ५० देखि एक सय ६५ दिन हो, असारमा धान रोपे कार्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान पर्ने चलन छ ।’ गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार समुद्री सतहदेखि दुई हजार सात सय ९० मिटर उचाई जो विश्वकै अग्लो स्थान जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्ने गर्दछ । पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन् । बजारमा मार्सीको माग बढ्दो छ । तर ब्लास्ट रोगको संक्रमण र असिना पानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको १३ सय हेक्टरमा मार्सी खेती हुदै आएको छ । यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ ।
मार्सीको इतिहाँस
जुम्ली कालीमार्सी धानको उत्पति १२ औँ शताब्दीमा भएको उल्लेख छ । सन् १३०० सालमा गुरु चन्दननाथ बाबाले भारतको काश्मीरबाट कालीमार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ । मार्सीधानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सीधानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ । मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किम्बदन्ती छ । जुम्ली किसानले उत्पादन गरेको मार्सीधानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो । जंगली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतविद रमानन्द आचार्यले बताउनुभयो । जुम्लामा धान खेती बेसी क्षेत्र (समुद्र सतहबाट दुई हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सय देखि तीन हजार मिटर) मा हुने गरेको छ ।

तपाईको प्रतिक्रिया