भारतले किन्यो नेपाली खेलाडी, सन्दिपले आईपीएल खेल्ने


माघ १४, काठमाडौं । नेपाली युवा बलर सन्दिप लामिछाने भारतको चर्चित क्रिकेट आईपीएलमा आवद्ध भएका छन् । यससँगै सन्दिप आइपीएल क्रिकेटमा आवद्ध भएका पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

सन्दिप आईपीएल टिम दिल्ली डेयरडेभिल्ससँग आवद्ध भएका हुन् । आइतबार भएको अक्सनमा दिल्लीले १७ बर्षीय नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । उनको न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै सन्दिपलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ- आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

को हुन् सन्दीप ?

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो ।
एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेव वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपलमा ‘इन्ट्री’ ।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ ।

नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए ।

तपाईको प्रतिक्रिया