सवारी दण्ड जरीवानाबाट करिव १८ लाख राजश्व संकलन

मानदत्त रावल,
जुम्ला ः आर्थिक बर्ष ०७५÷०७६ मा सवारी दण्ड जरीवानाबाट जुम्लामा करिव १८ लाख राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय जुम्लाले २ हजार ८ सय ५ वटा सवारी कारवाहीबाट १७ लाख ९५ हजार ५ सय रुपैया राजश्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव निरीक्षक कलबहादुर शाहीका अनुसार कर्णाली राजमार्गमा आव ०७५÷०७६ मा २५ वटा सवारी दुर्घटना भएका थिए । उनले भने सवारी दुर्घटनामा ६ जना मृत्यु भएको थियो भने २६ जनाको सामान्य घाइते र ४ जना गम्भिर घाइते भएका थिए ।
त्यसैगरी आर्थिक बर्ष ०७४÷०७५ मा १ हजार ८ सय ६३ सवारी दण्ड जरीवानाबाट १२ लाख ५९ हजार ५ सय रुपैया राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । बर्षभरी कर्णाली राजमार्गमा २९ वटा सवारी दुर्घटना भएका थिए भने सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको जनाएको छ । त्यसैगरी सवारी दुर्घटनामा परेर २० जना सामान्य घाइते भएका थिए भने ११ जना गम्भिर घाइते भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।
सवारी दुर्घटना न्यूनिकरण हुदै
जुम्ला कर्णाली राजमार्ग मार्फत सडक सञ्जालमा जोडिएसँग तुलानात्मक हिसावले दिनप्रति यहाँका सवारी साधनको चाप बढ्दै गएको छ । सवारी चाप बृद्धि भएपनि सवारी दुर्घटना भने न्यूनिकरण हुदै गएको जनाएको छ । आव ०७४÷०७५ मा २९ वटा सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको थियो भने आव ०७५÷०७६ मा २५ वटा सवारी दुर्घटनामा परी ६ जनाको मात्र मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव निरीक्षक शाहीका अनुसार सवारी चालक सहचालकको स्वास्थ्य परीक्षण(आँखा र रक्तचाप) ट्राफिक जनचेतनाका लागि विद्यालयमा स्कुल सम्र्पक कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरण भएको हो । त्यसैगरी सर्वसाधारणलाई सचेतना कार्यक्रम, ट्राफिक नियम सम्वन्धी पर्चा पम्पीलेट वितरण जस्ता क्रियाकलाप हुने गरेका छन् ।
सवारी दण्ड जरीवाना अब बैक भौचरमार्फत
ट्राफिक नियम विपरित सवारी साधन चलाएपछि सवारी दण्ड जरीवाना बापत प्रहरीले बैक रकम जम्मा गरेको भौचर लिने भएको छ । यो नियम १ साउन देखि लागु भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।
ट्राफिक प्रहरी हवल्दार कुशराज शाहीका अनुसार सवारी दण्ड जरीवाना बापतको रकम राष्ट्रिय बाणिज्य बैक जुम्लामा रहेको जिप्रका जुम्लाको खाता नम्बर १०००२०००१०००० मा जम्मा गर्ने व्यवस्था छ । उनले भने यो नियम नेपालका ठुला शहर बजारमा पहिले नै लागु भएपनि जुम्लामा भने १ साउन देखि लागु भएको हो । जुम्लाको सिँजा भेगमा भने यो नियम लागु नहुने भएको छ । सिँजमा भेगमा राष्ट्रिय बाणिज्य बैक नभएका कारण लागु नभएको उनको भनाइ छ ।
सवारी दण्ड जरीवानाको राजश्व रकम ट्राफिक प्रहरीले दुरुपयोग गर्ने गरेको आरोप लागेपछि राज्यले यो नियम अवलम्बन गरेको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । सवारी दण्ड जरीवाना अनुसारको रकम बैकमा जम्मा गरेको सक्कलन भौचर ल्याएपछि मात्र सवारीका कागजात फिर्ता गर्ने गरिएको छ । यही नियम लागु भएदेखि जुम्लामा २५ वटा सवारी कारवाहीमा परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस