मानदत्त रावल, जुम्ला ः कर्णाली राजमागसँग जोडेर ग्रामीण सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको जनाएको छ । जसले गर्दा ठाउँठाउँमा पहिरो जाने गरेको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताए । ‘कर्णाली राजमार्गलाई प्रभावित हुने गरी स्थानीय तहले गाउँ–गाउँ जाने सडक निर्माण गरेकाले पहिरोको जोखिम बढेको छ,’ महताराले भने ।
अहिले पनि जुम्ला र कालिकोटमा राजमार्गलाई प्रभावित हुने गरी एक दर्जनभन्दा बढी सडक निर्माण भइरहेका छन् । सडक डिभिजन कार्यालयका अनुसार, खाँडाचक्र नगरपालिकाको ताडीबजारदेखि तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक, थानकोटदेखि बद्रीगाँउ जाने सडक, पोरीपाल्नीदेखि भर्ता जाने सडक, सुनार खोलादेखि ताडी जाने सडक, दाँहाँदेखि पिली जाने सडक, दाँहाँदेखि चुलीमालिका जाने सडक, पिलीदेखि पाखा जाने सडक निर्माण भइरहेका छन् । ती सडकले ढुंगामाटो फाल्दा गाडी चलाउनै सकस भएको छ ।
ठूला गाडीले पनि समस्या
ठूला गाडीका कारण पनि कर्णाली राजमार्गमा समस्या भएको छ । एक लेनको सडकमा केही वर्षदेखि १० चक्के मालवाहक गाडीसमेत गुडिरहेका छन् । साँघुरो सडकमा ठूला गाडीको ओहोरदोहोरले पनि सास्ती भएको जनाएको छ । सडकले भार थेग्न नसक्दा पहिरोको समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।