६ नम्बर प्रदेश सांसदका प्रथामिकता- कर्णाली हुँदै चीन जोड्ने सडक


सागर परियार, जुम्ला,
प्रदेश नं ६ का प्रदेशसभा सदस्यहरूले कर्णाली हुँदै छिमेकी देश चीन जोड्ने सडकलाई प्राथमिकता राखी छलफल सुरु गरेका छन् । नीहरूले कर्णाली राजमार्गको स्तरोन्तीसँगै सुर्खेत–दैलेख र चीनको उत्तर दक्षिण जोड्ने मुगु गमगडी–नाक्चेलाग्ना सडकलाई प्राथमिकता दिएका हुन् ।
जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको पहलमा कर्णाली प्रदेशका जनप्रतिनिधिबीच चीनसँग नाका जोड्ने उत्तर दक्षिण राजमार्गका विषयमा छलफल भएको छ ।

कर्णाली प्रदेशको मुकाम सुर्खेतबाट दैलेख हुँदै महाबुलेकबाट छोटो दुरीको सडक जुम्ला हुने र मुगु नाक्चेलाग्ना हुँदै चीनसँग नाका जोड्न सडक विस्तार कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सांसदहरूको प्राथमिकतामा रहेको उनको भनाइ छ । प्रदेश नम्बर ६ अर्थात् कर्णाली प्रदेश छिमेकी देश भारतसँग नाका नजोडिएको एकमात्र प्रदेश हो । यसले पनि छिमेकी देश चीनसँग नाका जोड्नका लागि पनि यो उत्तर दक्षिण सडकका लागि सवै जनप्रतिनिधि तथा सांसदहरू जुटेर काम गर्ने कर्णाली प्रदेशका सांसदहरूको साझा प्रतिबद्धता छ । व्यापारिक र कर्णाली प्रदेशको समृद्धिका लागि चीनसँग जोड्ने उत्तर दक्षिण राजमार्ग उपयुक्त हुने ६ नम्बर प्रदेश मुख्यमन्त्रीका दाबेदार तथा सांसद नरेश भण्डारीले बताए ।

उत्तर–दक्षिण जोड्ने सडक विस्तार नगरे कर्णालीमा विकासको ढोका खुल्दैन । भण्डारीले भने, “मुलुकको मोडेल प्रदेशका रूपमा ६ नम्बर प्रदेशलाई विकास गर्न साँझा प्रतिबद्धताका साथ अगाडी बढ्नुको विकल्प छैन ।” अहिले सञ्चालनमा रहेको कर्णाली राजमार्गभन्दा सुर्खेत–दैलेख हुँदै जुम्ला सडकमा छिटो छरितो सहज हुने र ७० किलोमिटर कम पर्ने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधिले दैलेख–जुम्ला सडकलाई प्रथामिकता दिँदै आएका छन् ।

महावै गाउँपालिकाको महावुदेखि चिलखायसम्मको झण्डै ३० किलोमिटर सडक निर्माण भएको खण्डमा कर्णाली राजमार्गसँग जोडिन्छ । सांसद पदम रोकाया भन्छन्, “कालिकोटको महावै गाउँपालिका र दैलेखको सिमानाको गाउँपालिका अध्यक्षसँग छलफल गरेर निर्माण कार्यमा तदारुकता देखाइरहेका छन् ।”

सडकको ट्र्याक खोल्न दुवै गाउँपालिकाको तयारी रहेको भन्दै अव महावुको लेकदेखि कालिकोटको चिलखायसम्मको सडक विस्तारमा जोड दिइएको छ । छलफलमा सहभागी नेकपा माओवादी केन्द्र जुम्लाका युवा नेता विष्णुबहादुर भण्डारीका अनुसार कर्णाली पर्देशको द्रुतमार्गको रूपमा विकास गर्ने र यस सडकलाई प्रथामिकतामा राखेर काम अगाडि बढाउने सवै स्थानीय तहका जनप्रतिनिधि र सांसद सहमत भएका छन् ।
अब आउने नयाँ सरकार गठन हुनाबित्तिकै बजेटको व्यवस्थापन गरी काम अघि बढाउनेमा जनप्रतिनिधि केन्द्रीत रहेका छन् ।  सुर्खेत–दैलेख–जुम्ला १ सय ७० किलोमिटरमा ३० किलोमिटर ट्रक खुलेको खण्डमा जुम्ला जोडिन्छ भने नाग्म–गमगडी–मुगु ९६ किलोमिटर यातायात चलिरहेका छन् ।
नाका खोल्ने तदारुकता
कर्णालीका सांसदको प्रथामिकतामा रहेको उत्तर दक्षिण जोड्ने सडक विस्तारमा सडक डिभिजन कार्यालय जुम्लाले पनि तदारुकता देखाएको छ । अब सांसद र जनप्रतिनिधिहरू मिलेर नाका खुलाउन सके कर्णालीमा विकासको लहर अघि बढ्ने भन्दै सडक विस्तारमा केन्द्रदेखि जिल्लास्तरमा सडक विभागले तदारुकता देखाएको डिभिजन सडक कार्यालयका प्रमुख अंगलाल रोकायाले बताए ।

अहिलेसम्म १५ किलोमिटर ट्रक खोलिसेको छ । मुगु गमगडीदेखि चीनसँग जोड्ने लाक्चेलाग्ना सडक ९२ किलोमिटर पर्दछ । नाक्चेलाग्ना सडकका लागि हरेक बर्से्नि ४ करोड बजेट निकासा हुने गरेको छ । अस्थिर राजनीतिले गर्दा बजेटले मात्रै निर्माण अगाडि बढ्न सकेको छैन् । त्यो सडकमा चट्टान धेरै भएको रकम पनि धेरै खर्च हुने अवस्था देखिने उनले बताए । लाक्चेलाग्ना सडकका लागि ठूलो परिमाणमा बजेटको आवश्यकता छ ।
कहिलेसम्म जोखिमको यात्रा ?
कर्णाली राजमार्गको सुर्खेत कालिकोटदेखि जुम्लासम्म २ सय ३२ किलोमिटर यात्रा गरिरहेका छन् । साना सवारीले १ दिनमै नेपालगज्ज सुर्खेतदेखि जुम्ला पुर्याउने गरेको छ भने ठूला सवारीसाधनले २ दिनमा पुर्याउने गरेका छन् । नाग्म गमगडी जोड्ने सडकको यात्रामा भगवान पुकारेरै गन्तव्यमा पुगिने स्थानीय बताउँछन् । स्थानीय तह, प्रदेश र संघमा चुनिएका कर्णाली प्रदेशका सांसदहरूले कर्णाली राजमार्गसँगै चीनको उत्तरी दक्षिण जोड्ने सडक विस्तारलाई प्रथामितका दिएकोमा कर्णालीबासीमा भने केही आशा पलाएको छ ।

तपाईको प्रतिक्रिया