छुइप्रथा हटाउने सन्देशसहित जुम्लामा महायज्ञ गरिने

पछिल्लो समय छुइप्रथा विरुद्ध महाअभियान सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले यस प्रथा हटाउन महायज्ञ गर्ने भएको छ । यही माघ महिनाको अन्तिममा छुइप्रथा विरुद्ध महायज्ञ आयोजना गर्न लागेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन ।

यसै महिनाको अन्तिम साता धामीझाक्री, पुरोहित, महिला अगुवालगायत आमनागरिकको भेला गरि छुइप्रथा विरुद्ध महायज्ञ गर्ने उनले बताइन् । छुइप्रथा हटाउने अभियानलाई सार्थक बनाउनका लागि नियमित रुपमा अनुगमन गर्ने गरेको उनको भनाई छ ।

प्रजिअ बञ्जाडेले कार्यालयबाट प्रदान हुने सेवालाई सुलभ बनाउन प्रयास गरेको बताइन । उनले बालविवाह न्यूनिकरण, सामाजिक अपराध, ब्राउन सुगर ओसार पसार र प्रयोग जस्ता विषयमा कडाई गरेको बताइन् । जिल्लाको विपद् व्यवस्थापनलाई सक्रिय बनाईएको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयको हाताभित्रै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा काम गर्न आउने सेवाग्राहीको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको छ । कार्यालयमा खस भाषामा अडियो बडापत्र सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको भुइतलामा अपाङ्ग तथा जेष्ठ नागरिक सेवा कक्ष पनि सञ्चालनमा ल्याएको छ । सेवालाई सहज बनाउन आफूले प्रयास गरिरहेको प्रजिअ बञ्जाडेले बताइन ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस