
कर्णाली पोष्ट ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले हाडसिँजामा १५ बेडको अस्पताल निर्माण गर्न प्रक्रिया थालेको छ । इलाका स्वास्थ्यचौकीलाइ स्तरउन्नती गरेर १५ बेडको अस्पताल निर्माण गर्न थालेको हो । गाउँपालिकाले अस्पताल निर्माणको काम अघि बढाएपछि स्थानीय उत्साहित छन् । अस्पताल नहुँदा एक दिनको पैदल हिडेर उपचार गराउनु पर्ने बाध्यता थियो ।
अस्पताल भवन निर्माणका लागि स्थानीयले हाड सिंजामा ७ रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएपछि अस्पताल निर्माण प्रक्रिया अघि बढेकोइलाका स्वास्थ्य चौकी हाडसिंजाका इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार स्थानीय रविलाल आचार्य र नाना आचार्य लगायतका स्थानीयले झण्डै ३० लाख मुल्य बराबरको जग्गा अस्पताल निर्माणका लागि दान गरेका हुन् ।
अस्पताल प्रयोजनका लागि तीन वटा भवन निर्माण हुनेछन् । संघिय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ को मान्यता बमोजिम अस्पताल निर्माण गर्न लागिएको इन्चार्ज उपाध्याय बताउँछन् । अस्पताल निर्माणको लागि गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण पक्रियाको फाइल दर्ता भएको थियो । अस्पतालमा आवश्यक पर्ने ल्यावका उपकरणहरु आइसकेका छन् । जनस्वास्थ्य प्रयोगशाला टेकुबाट ४ लाख बराबरको ल्यावको सामान स्वास्थ्यचौकीमा पुगिसकेको छ । ल्यावको सामान ढुवानी गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।
जुम्लाका ८ वटै स्थानीयतहहरु मध्ये १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अघि बढाउने पहिलो गाउँपालिका कनकासुन्दरी भएको छ ।
अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसक्यो,‘उनले भने,‘अस्पताल निर्माण भएपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौँ हिडेर सदरमुकाम पुग्नुपर्ने अवस्था आउने छैन् । ’ स्थानीय रविलाल आचार्य अब सामान्य बिरामीको उपचार गर्न सदरमुकाम खलंगा पुग्नु पर्ने बाध्यता हट्ने बताउँछन् । उनले भने,‘ अब स्वास्थ्य क्षेत्रमा निकै राम्रो सन्देश सुनिएको छ । यो सन्देश समयमै पुरा होस । ’
अहिले गाउँगाउँमा औषधी अभावले बिरामीको बेहाल छ । उनले भने,‘ यो अस्पताल निर्माण भएपछि यहाँ भित्रिने पर्यटकलाइ समेत सहज हुने भएको छ । सामान्य बिरामी हुुदाँ पनि जिल्ला सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लैजानु पर्ने अवस्था आउनेछैन् । ’ गाउँपालिकाले थालेको अस्पताल निर्माणको कामले गाउँमा सिंहदरबार पुगेको अनुभुति भइरहेको स्थानीय बताउँछन् ।