महासचिव मैनालीलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिँदै


महोत्तरीको बर्दिवासमा बुधबार सवारी दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीलाई उपचारार्थ सेनाको हेलिकोप्टरमा काठमाडौं लगिने भएको छ ।

झापाबाट काठमाडौं जाँदै गर्दा मैनाली चढेको बा७च २१३० नम्बरको कारलाई बिपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना४च ७६६८ नम्बरको जिपसँग ठोक्किएको थियो ।

मैनालीसँगै उनका छोरा, बुहारी, नाती र चालकसमेत घाइते भएका छन्। ठक्करबाट मैनालीको दाहिने खुट्टा भाँचिएको र टाउकोमा समेत चोट लागेको प्रहरीले जनाएको छ ।

मैनालीलाई उपचारार्थ काठमाडौं लैजान मध्यपुर्वी पृतना हेडक्वाटर किसान नगरमा सेनाको एमआई १७ हेलिकप्टर ल्याण्ड भइसकेको प्रहरीले जानकारी दिएको छ ।

मैनालीको बुहारीको खुटटामा चोट लागेको छ भने छोरा र नातिसमेत सामान्य घाइते भएका छन् । चालकको टाउकोमा भने गम्भीर चोट लागेको छ । दुर्घटना लगत्तै बर्दिवासको शुभ स्वस्तिक अस्पतालमा घाइतेको प्राथमिक उपचार गरिएको थियो।

https://www.nayapatrikadaily.com/news-details/37354/2020-02-27

 

तपाईको प्रतिक्रिया