कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २,८७३ पुग्यो

काठमान्डौ । नयाँ कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ हजार ८ सय ७३ पुगेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कुल ८३ हजार ८ सय ५३ व्यक्तिमा संक्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्यांकमा बताइएको छ ।

सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले संकलन गरेको तथ्याका आधारमा यो संख्या उल्लेख गरिएको हो ।

बिहीबार साँझपछि उक्त भाइरसको संक्रमण १ हजार २ सय ९३ थप व्यक्तिमा देखिएको छ ।
मुख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म २ हजार ७ सय ८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८ सय २४ जनालाई संक्रमण भएको पुष्टि भैसकेको छ ।

ग्रीनविच समयअनुसार बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउँसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३ सय २७ जना नयाँ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कुल पाँच हजार २९ व्यक्ति संक्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

चीनबाहेक संक्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म २ हजार ३ सय ३७ जनालाई संक्रमणको पुष्टि भएकोमा थप ५ सय ७१ जनामा विगत २४ घण्टाभित्र संक्रमण पुष्टि भएको हो ।

दक्षिण कोरियामा संक्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा १ सय २२ नयाँ संक्रमित व्यक्तिसहित ६५० जनाले संक्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस संक्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।
इरानको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कुल १ सय ४३ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । इरानमा संक्रमितको संख्या ३ सय ८८ पुगेको छ ।

त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७ सयभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
जापानका अन्य स्थानमा कुल २ सय १० व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र ८ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ बिरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस