वुहानबाट ल्याइएका १ सय ७५ जनामै कोरोना देखिएन, आजै घर पठाइने

काठमान्डौ । चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

१ सय ७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर पठाइने देवकोटाले बताए।

खरिपाटी क्वारेन्टाइनमा रहेका उनीहरूको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

गत फागुन ४ गते वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो।

क्वारेन्टाइनको पहिलो दिन नै कोरोना परीक्षणको गरिएको थियो। पहिलो परीक्षणको नतिजामा समेत कसैलाई पनि संक्रमण देखिएको थिएन।

आइतबार मात्र वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो।

सरकारले मापदण्ड अनुसार परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिए तत्काल संक्रमित व्यक्तिलाई आइसोलेसन गरिने र बाँकीलाई पनि थप १४ दिनको क्वारेन्टाइन म्याद थप्ने बताएको थियो।

setopati.com

प्रतिक्रिया दिनुहोस