सिंजामा यूवा सम्मेलन ः विकास निर्माणमा यूवा सहभागिताको जोड

कर्णाली पोष्ट दैनिक जुम्ला । सिँजा क्षेत्रका युवाहरुले यहाँ आउने कुल बजेटको पाँच प्रतिशत बजेट युवा लक्षित कार्यक्रममा खर्च गर्नु पर्ने माग गरेका छन् । उनीहरुले अहिले बेरोजगार युवालाइ रोजगारी सिर्जना दिनु आवश्यक रहेको भन्दै स्थानीय सरकारले पनि युवामैत्री निती बनाउनु पर्नेमा जोड दिएका हुन् ।
नेपाली भाषा संस्कृति र सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा गाउँपालिकामा सिँजा क्षेत्रका तीन वटा स्थानीय तहका युवा एकैथलोमा भेला भएका थिए । यो क्षेत्रमा हिमा गाउँपालिका ,सिजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका पर्छन् ।
प्लान ईनटरनेशनल को सहयोग र क्याड जुम्लाको आयोजनामा सम्पन्न भएको सम्मेलनमा सिंजा क्षेत्रका युवाहरुको हालको अबस्था र युवाहरुका लागि आगामी दिनमा गर्नुपर्ने योगदान, समस्या र चुनौतिका बिषयमा युवा र स्थानीय तहका जनप्रतिनिधिबीच व्यापक छलफल भएको थियो ।
सिंजा क्षेत्रका करिब एक सय जना अगुवा युबाहरुको उपस्थितिमा युबाहरुका लागि स्थानीय सरकारहरुले हालसम्म गरेको काम र भविष्यमा गाउँपालिकाहरुले युवाहरुको हितमा चाल्नु पर्ने कदमका बिषयमा समेत छलफल चल्यो ।
सम्मेलनमा हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले आफ्नो गाउँपालिकामा रहेका युवाहरुलाई विभिन्न सिपमुलक तालिम र रोजगारीका अबसर प्रदान गरिरहेको बताउँदै त्यतिले मात्र प्रयाप्त नभएको बताए । उनले युबाहरुलाई लक्षित गरि कुल बजेटको कम्तिमा पाँच प्रतिशत युवाहरुलाई परिचालित गर्नुपर्नेमा जोड दिए ।
सिंजाका कयौं युबाहरु रोजगारीका लागि भारतका गल्लीहरुमा जाने समस्या र गाउँपालिकाहरुले युबाहरुलाई उपेक्षित गरिरहेका समस्यालाई सम्बोधन गरि युवाहरुलाई ब्यबसायी बनाउँदै आत्मनिर्भरको अनुभुति दिलाउन सहभागी युबाहरुले सरोकारवालासंग माग गरेका थिए।

सिंजाका युबाहरुप्रति स्थानीय सरकारको कर्तब्य र जिम्मेवारी बोध गराउन युवा सम्मेलन गरिएको क्याड जुम्लाका सहजकर्ता शेरबहादुर रोकायले बताए । मुख्यमन्त्री रोजगार लगायतका रोजगारमुलक कार्यमा युबाहरुलाई परिचालन गरिने तिनै गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । सम्मेलन दुइ दिन सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस