समाचार प्रशारणपछि रेडियोलाई भवन छोड्न दबाव

जुम्ला ः जुम्लाको सिंजा भेगमा पर्ने सिंजा गाउँपालिका स्थित नराकोटमा रहेको एकमात्र रेडियो सिंजा एफ.एम रहेको भवन खाली गर्न दबाव दिइएको छ । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय देविकृष्ण शर्माले लाट्ठी प्रहार गरी कुटपिट, गाउँपालिकामा अनियमितता र एम्बुलेन्स जनप्रतिनिधिले प्रयोग गरेको समाचार प्रसारण गरेपछि सिंजा गाउँपालिकाले रेडियोले प्रयोग गरेको भवन छोड्न अल्टीमेटम दिएको रेडियो सिंजा एफएमका स्टेशन म्यानेजर मोहनबिक्रम शाहीले आरोप लगाए ।
जुम्लाको सदरमुकाम देखि ३२ कोष टाढा रहेको रेडियो सिजा एफएमले गएको एक महिनामा गाउँपालिकाले गरेका अनियमितताका समाचार प्रशारण गरेपछि विभिन्न धम्की खेप्दै आइरहेको स्टेशन म्यानेजर शाहीको भनाई छ ।
उनले भने, यही चैत्र २ गते सिजा गाउँपालिका – २ रनुखानाका देबिकृष्ण शर्माले गाउँपालिका अध्यक्ष रावललाई गाउँपालिका क्षेत्रमा बालुवा उत्खनन् कार्य किन नरोकेको भन्दै लाट्ठीले हानेको समाचार रेडियो सिजा एफ एम ले प्रसारण गरेपछि गाउँपलिका अध्यक्ष देवलसिंह रावलले रेडियो नचलाउन चेतावी दिएको थिए ।
अध्यक्ष रावलले शुक्रबार वडा नं ३ को कार्यालय मार्फत १५ दिन भित्र रेडियो संचालन गरिरहेको साबिक नराकोट गाबिसको भवन खाली गर्न पत्र पठाईएको छ । यस अघि पनि सिजा गाउँपालिकाको एम्बुलेन्समा जनप्रतिनिधिले प्रयोग गरेको समाचार प्रशारण पछि तत्काल रेडियो खाली नगरे मेसिनरी सामान उठाएर फाल्दिने समेत गाउँपालिकाले चेतावनी दिदै आइरहेको थियो ।
सिजा क्षेत्रका तीन गाउँपालिकाको एक मात्र सञ्चारको माध्यम रेडियो सिजाले गाउँपालिकाका भ्रष्टाचार र बेथितीको समाचार प्रशारण गर्ने डरले बन्द गराउन लागीएको रेडियो सिजा एफ एम का अध्यक्ष लिलाराज रावतको भनाई छ ।
गाउँपालिकाको भवन छोड्न अल्टीमेटम दिएपछि अब रेडियो खुल्ला चौरमा पाल टाँगेर भएपनि नियमित प्रसारण गर्ने तयारी छ । प्रेस स्वतन्त्रता माथिको दमन भएको भन्दै सिंजा एमफएम परिवारले स्वच्छ पत्रकारिता माथि दादागिरी चलेको आरोप लगाएको छ । हाल सिंजा एफएम सञ्चालित भवन सिंजा गाउँपालिका स्थित साविकको नराकोट गाविसको भवन हो ।
यता वडाध्यक्ष तिलाचन्द्र चौलागाईका अनुसार पहिला गाविस भएको अवस्थामा एक बर्षका लागि भाडामा लिएको भवन हो । जो त्यति बेला जनप्रतिनिधि आएकै थिएनन उनले भने अहिले जनप्रतिनिधि आएको पनि तीन बर्ष भयो । पुरानो गाविसको भवन रेडियोले प्रयोग गरेपछि अहिले वडापालिका टहरामा राखेर काम चलाएको उनले बताए ।
पहिला भाडा तिरेर रेडियो भवन प्रयोग गर्ने सम्झौता भएपनि अहिलेसम्म भाडा पनि दिएको छैन । अर्काे वडापालिका टहरामा चलाउनु परेको समस्याले भवन खाली गरेर वडापालिका सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए । रेडियोले अनियमितताको समाचार प्रसारण गरेपछि भवन छोड्न दवाव दिएका आरोप निराधार छ उनले भने यो पत्रसहित भवन खाली गर्ने भनेर चार वटा पत्र पठाएका छौँ । रेडियो सञ्चालकले अटेर गरेका छन् । अहिलेसम्म भवन भाडाको हरहिसाव गरी १५ दिनभित्र भवन खाली गर्न रेडियोलाई पत्र पठाएको वडाध्यक्ष चौलागाईले बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस