विकास निर्माणमा जुटे युवा


मानदत्त रावल
जुम्ला ः तातोपानी गाउँपालिका ३ लिताकोटगाउँ करन सुनार आफ्नै जन्मभुमिमा स्वरोजगारका लागि पाखुरा खियाउदै आएका छन् । सुनारले भने रोजगारका लागि विदेशिनु पर्ने अवस्था छैन काम गर्न सके आफ्नै ठाउँमा रोजगार छ । उनी जस्तै तिलाकोट गाउँका सयौँ युवाहरु आफ्नो जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै आएका छन् । नेपालमा रोजगार छैन भन्दै विदेशिने युवाहरुलाई उनीहरु भन्छन् विदेशमा बसेर खान मिल्दैन पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।
तिलाकोट गाउँका युवाहरु आफ्नै बालबालिका अध्ययन गर्ने कालिका प्रथामिक विद्यालयको २ कोठे भवन निर्माण गर्दै छन् । जिल्ला शिक्षा कार्यालय जुम्लाको १६ लाख रकम लगानीमा युवाहरु दुई कोठे भवन निर्माणमा जुटेका हुन् ।


आफ्नै गाउँठाउँका विकास पनि हुने र आयआर्जन पनि हुने भएपछि युवाहरु सकेसम्म स्वदेशमै रोजगार खोज्नु राम्रो भन्छन् अर्काे युवा परिमल नेपाली । उनले भने आफ्नै ठाउँमा पसिना बगाउन सके रोजगार यहाँ नै छ विदेशिनु पर्दैन आफ्नै माटोमा सुन फलाउन सकिन्छ ।
लिताकोट गाउँकै केही महिना अघि रोजगारीका लागि खाडी मुलुक कतार गएर फर्केका गोविन्द रावलले भने रोजगारका लागि विदेशिनु राम्रो नहुने रहेछ । अर्काको देशमा अनेक समस्या आईपर्ने रहेछन् उनले भने २ बर्ष कतारमा बसे विदेशमा दुख्ख गर्नुभन्दा स्वदेशमै दुख्ख गर्नु राम्रो रहेछ । आफ्नो ठाउँमा दुख्ख गरे विकास पनि हुने र रुपैया पैसा पनि कमाउन सकिने रहेछ । अहिले आफ्नै जन्मथलोमा पञ्चेश्वर सहकारीमा काम गर्दै आएको उनले भने यसैमा खुशी छु अब रोजगारका लागि विदेश जाने योजना बुनेको छैन ।

तातोपानी गाउँपालिका प्रमुख नवराज न्यौपानेका अनुसार हामी अव रोजगारीका लागि युवालाई विदेश जान नपर्ने वातावरण सिर्जना गर्दैछौ । उनले भने आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान शुरु गरिसकेका छौँ आफ्नो गाउँठाउँको आफैले विकास गर्ने र भएको दुईपैसा पनि आफैले खाने हो अव युवा जनशक्तिलाई यसरी उत्प्रेरित गरेर वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई सचेत पनि गर्दैछौँ । प्रमुख न्यौपानेले भने युवाहरुले रोजगार पाउन् भन्ने उद्देश्यले विकास निर्माणका कामहरु ठेक्कापट्टामा दिएका छैनौँ उपभोक्ता समिति मार्फत नै काम गराएका छौँ । तर केही उपभोक्ता समितिले इमान्दारीका साथ काम नगरेका हुनाले त्यता तिर निगरानी बढाउनु पर्ने अवस्था देखिएको छ उनले भने युवा शक्तिहरु पनि विकास निर्माणका काममा उत्साहित छन् र आफ्नै गाउँठाउँमा परिचालन गर्नुपर्छ र स्वरोजगार बनाउनका लागि गाउँपालिका लागी परेको छ ।
रोजगारीका लागि विदेशिन्छन् युवा
सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर थापाका अनुसार जुम्लाबाट पनि रोजगारका लागि विदेशिने युवाशक्ति उत्तिकै रहेका छन् । प्रशासनबाट दैनिक ४÷५ जनाले राहदानी बनाउन आउने गरेको उनले बताए । जुम्लाबाट सिफारिस लिएर केन्द्रबाट पनि लिने गरेका छन् ।
जुम्लाका बुद्धिजिवि जीवनबहादुर भण्डारीले बैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुको रेमीटयान्सले देश बाची रहेको छ तर कयौँ नेपाली युवाहरुको जीवनलीला समाप्त हुदै गएको बताए ।
अरू देशले मानवपुजी आयात गर्छन, देशमा वस्तुको उत्पादन निर्यात गरेर, मानवपुजिलाई आयात गरेर देशलाई अब्बल, समुन्नत बनाएका छन् तर नेपालले भने मानवपुजी (युवा शक्ती)को निकासी गरेर मृत मानव शरिरको आयात गरेर आफुलाई विश्वमा अब्बल सावित गरिसकेको छ, जसले पठाएको रेमिटयान्सबाट देशले आफ्नो जीवन निर्वाह गरिरहेको छ भण्डारीले भने ।
नेपालमा रोजगारका प्रचुर संभावना नभएर नेपाली युवाहरू दैनिक १५०० का दरले विदेशिन्छन् । बाबा आमाको सपना, परिवार बालबच्चाको शिक्षादिक्षाको जोहो गर्न विदेशिन्छन् तर मृत शरिर नेपालमा भित्रिने गर्ने गरेको भण्डारीले भने ।

तपाईको प्रतिक्रिया