हिमाका सबै घरधुरीलाई ३० किलो चामल

जुम्लाको हिमा गाउँपालिकाले प्रत्येक घरधुरीलाई ३० केजी चामल र २५ केजी नुन वितरण थालेको छ ।

लकडाउनका वेला सबैको घरमा समस्या भएको भन्दै यस्तो व्यवस्था गरेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले  बताए ।

गाउँपालिकाको निर्णयअनुसार पहिलो चरणमा चामल र नुन वितरण गर्दै आएको उनले बताए ।

गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ का एक हजार ५ सय ६७ घरधुरीलाई बुधबार घरदैलोमै पुगेर राहत वितरण गरिएको उनले बताए ।

गाउँपालिका भरी दुई हजार तीन सय ३५ घरधुरी रहेकामध्ये एक सय ५० घरधुरी अतिविपन्न भएकाले उनीहरूलाई थप राहतको व्यवस्था गर्ने अध्यक्ष शाहीले बताए ।

लकडाउनको समयमा खाद्यसंकट हुन सक्ने भन्दै जिल्लाको हिमा गाउँपालिकाले खाद्य बैंक स्थापना गरेको छ ।

गाउँपालिकाले नेपाल खाद्य संस्थान सुर्खेतबाट चामल खरिद गरी खाद्य बैंक सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष शाहीका अनुसार चामल, दाल, नुन, तेल सबै एकै ठाउँमा जम्मा गरी खाद्यसंकटको समयमा वितरण गरिनेछ ।

अतिविपन्नलाई पहिलो प्राथमिकता राख्दै आवश्यक भएका स्थानीय व्यक्तिलाई फुड बैंकबाट खाद्यान्न उपलब्ध गराउने तयारी गरिएको उनले बताए ।

गाउँपालिकाभरिका सबै घरधुरीलाई ४७ लाख रुपैयाँबराबरको चामल खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए ।

उनले सुर्खेतस्थित खाद्य संस्थानको कार्यालयबाट सात हजार क्विन्टल चालम आयात गरिसकेकाे बताए ।

पालिकाभरिका दुई हजार तीन सय ३५ घरधुरीलाई ३० केजी चामल, २५ केजी नुन, दाललगायतका खाद्यान्न उपलब्ध गराउन खाद्य बैंकमा जम्मा गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस