जुम्लामा भोकमारीको अवस्था छैन : प्रजिअ बञ्जाडे


भुपेस उपाध्याय

काठमाडौं । मुलक अहिले लकडाउनमा छ । विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा नेपालमा पनि यसले ठूलो असर पारेको छ । सरकारले कोरोना भाइरस नियन्त्रणमा ल्याउन चैत ११ देखि देशभर लकडाउनको घोषणा गर्यो । सुरुआत मा एक साता मात्र लकडाउन गरेको सरकारले पछिल्लो समय बढाउँदै अहिले त वैशाख १५ गतेसम्म पुर्याएको छ ।

तर, कर्णाली प्रदेशको जुम्लामा भने चैत १० देखि नै लकडाउनको घोषणा गरिएको थियो । एक दिनअगावै घोषणा गरिएको लकडाउनलाई सुरुवाती दिनमा पालना गर्न निकै समस्या पर्यो । जिल्ला प्रशासन कार्यालयले जुम्ला बजारदेखि सिंजासम्मको क्षेत्रमा कडाइका साथ लकडाउन घोषणा गरेको छ । सुरुवाती समय केही असहज भएको लकडाउन प्रभावकारी बनाउन अहिले नागरिक अगुवाहरू पनि सक्रिय बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयलाई पनि अहिले लगडाउन प्रभावकारी बनाउन सहज भएको छ । जिल्लामा रहेका करिब १८ अस्थायी क्याम्पबाट प्रहरीहरू खटिएर लकडाउन प्रभावकारी बनाउँदै छन् । ग्रामीण भेकमा हुने धेरै काम प्रभावित हुने भएकाले लकडाउन गाउँ क्षेत्रमा कडाइ गर्न भने सहज छैन । गाईवस्तु चरनका लागि लैजाने, मल बोक्ने, खेतमा पानी हाल्न जानेलगायत कामका लागि भने सहज गरिएको छ ।

जुम्लामा चैत १० देखि गरिएको लकडाउन प्रभावकारी बनाउन लागिपरेको र यसलाई सफल पार्दै नागरिकलाई कोरोना संक्रमणबाट जोगाउने प्रयासमा लागिपरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडे बताउँछिन् ।

“जुम्लामा हामीले नेपालमै पहिलोपटक चैत १० गतेबाट लकडाउन सुरु गरेका थियौं । लकडाउन अहिले पनि जारी छ । सुरुमा एकदमै असहज भयो । दुई–तीन दिनपछि नागरिकले नै लकडाउन प्रभावकारी बनाउन सहयोगी बने । नागरिकको दैनिक उपभोग्य सामग्री खरिदका लागि प्रशासनले दिनमा दुईपटक बिहान ७ देखि ९ बजेसम्म । बेलुका ४ देखि ७ बजेसम्म बजार खुला गरेको छ । त्यो बेला पनि सामाजिक दूरी कायम गरी सामान किनमेल गर्ने व्यवस्था मिलाएका छौं,” बन्जाडेले भनिन् ।

जुम्लामा अहिले विशेषगरी भारत तथा अन्य क्षेत्रबाट काम गरी आएकाहरू छन् । उनीहरूलाई कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा राखेर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ भएकालाई घर पठाइसकिएको प्रजिअ बन्जाडे बताउँछिन् ।

“जम्मा २४६ जनालाई आइसोलेसनमा राखेर स्थास्थ्य परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो । अहिले हाम्रो निगरानीमा क्वारेन्टाइनमा बसेका १८ जना छन् । उनीहरूको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । जुम्लामा विदेशबाट आएका सबैको स्थास्थ्य परीक्षण भइसकेको छ । अहिलेको अस्थामा त्यति जोखिम भने छैन । हामीले सुरुदेखि नै सावधानी अपनाउँदा सहज भएको छ,” उनले भनिन् ।

जाजरकोट, मुगु, डोल्पा र कालीकोटसँग सीमा जोडिएको जिल्ला जुम्ला हो । जुम्लासँग सिमाना जोडिएका अन्य जिल्लाका मानिसहरू पनि रोजगारीका लागि भारत जाने गर्छन् । उनीहरू केही मात्रामा फर्केका छन् । जुम्लामा अन्य जिल्लाबाट आउनेहरूलाई पनि अहिले क्वारेन्टाइनमा राख्ने गरिएको छ । जुम्लामा रहेका सीमा नाकाहरूमा पनि कडाइ गरिएको छ ।

“हामीले अर्काे जिल्लाबाट आएका मानिसलाई पनि क्वारेन्टाइनमा राख्ने गरेका छौं । जुम्लासँग जोडिएका सबै सीमा नाकामा कडाइ गरिएको छ । हरेक गाउँपलिकाका लागि निजी गाडी तथा एम्बुलेन्सको व्यवस्था गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको आपतकालीन सेवाका लागि एक छुट्टै एम्बुलेन्सको व्यवस्था गरेका छौं । हामी सचेत छौं । कोरोनाविरुद्धको लडाइँमा जित्ने प्रयासमा छौं,” बन्जाडेले भनिन् ।

जुम्लामा अहिले भोकमारीको अवस्था भने छैन । दैनिक ज्याला मजदुरी गर्ने पनि कमै रहेको उनको भनाइ छ । “उनीहरूलाई राहतका लागि हामीले सरकारको निर्देशनअनुसार वितरण गरेका छौं । प्रत्येक गाउँपालिकाबाट राहत वितरण गरिएको छ । बजार क्षेत्रमा रहेका केहीलाई राहत वितरण गरिएको छ । हालसम्म लकडाउनले भोकै बस्ने अवस्था भने कसैको छैन । लकडाउन लामो भए जुम्लामा केही असर भने पर्न सक्छ,’ उनले भनिन् । जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् ।
बाह्रखरी अनलाइन

तपाईको प्रतिक्रिया