
जुम्ला ः मुगु जिल्लाको खत्याड गाउँपालिकामा ¥यापिड टेस्ट गर्दा एक जनामा कोरानाको एन्टिबडी पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको छ । प्राध्यापक डा. सुनिल बुढाथोकीको नेतृत्वमा टोली खटाएको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । टोलीमा डा.कपिल अमगाइ, पब्लिक हेल्थ विज्ञ डा. निशान्त लामा, नबराज रावत र विष्णुभक्त आचार्य सहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो ।
कर्णाली प्रदेश सरकारले खत्याड गाउँपालिकामा विशेषज्ञ सहितको टोली खटाउन आग्रह गरेपछि कर्णाली प्रतिष्ठानले टोली खटाएको हो । टोलीको सबै व्यवस्थापन खत्याड गाउँपालिकाले गर्ने भएको छ । टोलीलाई जनस्वास्थ्य कार्यालय कालिकोटले ६० र जनस्वास्थ्य कार्यालय जुम्लाले ४० वटा आरडिटी किट उपलब्ध गराएको छ । संक्रमणको आशंका गरिएका व्यक्तिको स्वाब लिनको लागि भिटिएम समेत टोलीले लिएर गएको छ । जुम्लाबाट हिँडेको टोलीलाई आवश्यक सहयोग गर्ने प्रतिनिधि सभा र प्रदेश सभाका सांसदले समेत आश्वासन दिएका छन् ।
टोलीले खत्याड गाउँपालिकाको सबै घरमा पुगेर स्क्रिनिङ गर्नेछ । एक हप्तासम्म खत्याडमै बसेर संकास्पद ब्यक्तिको उपचार देखि अनुसन्धान गर्ने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले घरदैलोमा स्वास्थ्यकर्मी अभियान थालेपछि संघीय सरकारले पनि चाहिने जति आरडिटी उपलब्ध गराउने बचन दिएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले थालेको घरदैलोमा स्वास्थ्यकर्मी अभियानलाइ प्रदेश भरी विस्तार गर्न समन्वय भइरहेको बताउँछन् । खत्याडमा विशेषज्ञको टोली पनि त्यही अभियानकोे मर्म अनुसार खटाइएको बताए । उनले भने,‘ कर्णाली प्रतिष्ठानले विपतका समयमा थालेको घरदैलोमा स्वास्थ्यकर्मी अभियान निकै प्रभावकारी छ । अब यसलाई प्रदेश भर विस्तार गर्न आवश्यक छलफल शुरु भइसकेको छ । उनले अहिले स्वास्थ्यकर्मीको तथ्यांक संकलन र कलस्टरिङ गरिरहेको बताउँदै यो अभियानलाई मेडिकल मार्चका रुपमा स्थापित गर्ने बताए ।
यो मार्च कोराना नियन्त्रण नहुन्जेल सम्म जारी रहनेछ । प्रत्येकको घरदैलोमा पुगेर स्वास्थ्य उपचारका क्रियाकलाप गर्ने छ । जुम्लाको चन्दननाथ नगरपालिका १ देखि घरदैलो कार्यक्रम शुरु भएको थियो । खत्याडमा गएको टोलीसँग स्थानीय सरकारले आफ्ना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ ।