लकडाउन उल्लंघन हुन थालेपछि घरेलु मदिरा नष्ट


जुम्ला ः जुम्लाको तिला गाउँपालिका – १ रारालिहीमा जनप्रतिनिधि र सुरक्षाकर्मी मदिरा नियन्त्रणमा जुटेका छन् । मदिरा सेवनका कारण हो हल्ला गर्ने र लकडाउन उलङ्घनका क्रियाकलाप बढ्न थालेपछि मदिरा नियन्त्रण गर्न थालिएको हो । प्रहरी चौकी रारालिहीका इन्चार्ज प्रहरी नायब निरिक्षक कृष्णबहादुर खड्काका अनुसार जनप्रतिनिधि र प्रहरी मिलेर मदिराको बेचविखन, सेवन र ओसारपसार गर्ने संभावित क्षेत्रमा सर्च अभियान थालेका छौँ ।
अभियानका क्रममा तिला १ मा १० लिटर अवैध घरेलु मदिरा र १ सय ५० लिटर अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिएर नष्ट गरिएको चौकी इन्चार्ज खड्काले जानकारी दिए । उनले अभियानका क्रममा लकडाउनको पुर्ण पालना गर्न र कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गर्ने गरिएको बताए । तिला गाउँपालिका १ का वडाध्यक्ष परबहादुर रावत र प्रहरी नायब निरिक्षक खड्काको टोली गाउँगाउँमा गएर मदिरा नियन्त्रण गर्न जुटेको छ ।
मदिरा उत्पादन बिक्रि वितरण र सेवन गर्न निषेध गर्न जनप्रतिनिधिले घरदैलोमा पुगेर कागज समेत गराएका छन् । स्थानीयले पनि मदिरा नियन्त्रण अभियानलाई साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् । लकडाउनका कारण बजार बन्द छन् । लुकिछिपी मदिराको कारोबार गर्ने र सेवन गर्नेलाई निरुत्साहित गर्न विभिन्न विकल्प अपनाइरहेको प्रहरी चौकी रारालिहीले जानकारी दिएको छ ।
यसअघि वडा कार्यालयमा बसेको बैठकले पनि मदिरा नियन्त्रण गर्नको लागि अभियान चलाउने निर्णय गरेको थियो । सुरक्षाकर्मी र जनप्रतिनिधि बीचको सम्बन्धले यहाँको मदिरा बिरुद्धको अभियान निकै प्रभावकारी बन्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस