अलपत्र परेका नागरिकलाई जुम्ली युवाको सहयोग


जुम्ला ः विश्वभर फैलिदो कोरोना भाइरस (कोभिड १९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि देशभरीका नागरिक अहिले आफ्नो गृह जिल्लामा पुग्न पाएका छैन । कतिपय जिल्ला बाहिर रहेका श्रमिक मजदुर, विद्यार्थी अझै पनि विभिन्न जिल्लामा अलपत्र अवस्थामा परेका छन् भने कतिपय नागरिकहरुले विभिन्न निकायहरुले उद्धार गर्दा आफ्नो गृह जिल्लामा पुगेका अवस्था छ । यतिबेला जुम्लाका समाजसेवा युवा भने स्वयम सेवकमा खटिएका छन् । जुम्ली स्वयम सेवक समुह गठन नै गरी समाज सेवामा लागी परेका छन् ।
यस्तै बाहिर जिल्लाका जुम्लामा अलपत्र परेका नागरिकलाई जुम्ली युवा स्वयम् सेवक समुहले भने दैनिक उपभोग्य बस्तु राहत प्रदान गर्दै आएका छ ।
विदुर नगरपालिका १ त्रिसुली नुवाकोट जिल्लाका रविन तामाङ र सुरेन्द्र तामाङलाई राहत सामग्री उपलव्ध गराएका छन् । उनीहरुलाई चामल २५ किलो, दाल २ किलो, तेल २ पाकेट र रिर्चाज एक सय रुपैयाको उपलव्ध गराएका युवा बालकृष्ण बुढाले बताए ।
त्यसैगरी लकडाउन अघि जुम्ला पुगेका भरतपुर महानगरपालिका – २७ चितवनका जयबहादुर कुमाल र भिष्म महत्तो एक महिना देखि जुम्लामै छन् । उनीहरुलाई तातोपानी गाउँपालिका २ की सत्यदेवि डाँगीले आश्रय दिदै आएकी थिईन । उनीहरुलाई पनि २५ किलो चामल, दुई किलो दाल, तेल दुई प्याकेट र एक सय रुपैयाको रिर्चाज कार्ड उपलव्ध गएको छ ।


बाहिर जिल्लाका जुम्लामा लकडाउनले अलपत्र परेका नागरिक र अतिविपन्न बर्गका लागि राहत उलव्ध गराउने उद्देश्यका साथ संगठित भएर सामाजिक काममा लागेको स्वयम सेवक सारादा पछाईले बताइन् । उनले भनिन् जुम्लाका झण्डै दुई दर्जन युवा संगठित भएका छौँ । व्यक्तिगत रुपमा रकम संकलन गरी यस्तै राहत सहयोग गर्ने, कोरोना भाइरस रोकथाम नियन्त्रणका लागि सचेतीकरण देखि राहतका लागि समन्वय सहकार्य गर्ने गरेका छौँ ।

तपाईको प्रतिक्रिया