मानव–स्मृति


कान्तिका सेजुवाल

भर्खर भर्खर जस्तै लाग्छ । सँगै बसेको, सँगै खाएको र सँगै रमाएको त्यो पल । कर्णालीवासीको विकासको सपना बाँडेको त्यो दिन । विकासवादी नेतृत्व, कर्णालीका कहिल्यै नअस्ताउने नक्षत्र गुमाउँदाको क्षण । तर चार वर्ष बितेछ । नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिने लेकमा दुर्घटना भई निधन हुनुभएका मेरो पति मानव सेजुवाल गुमाएको दिन।

समय आउँछ, जान्छ र अतीतलाई ब्यूँताइदिन्छ । झस्काउँछ । अतीतको याद दिलाइदिन्छ । मीठो यादले चञ्चल बनाइदिन्छ । मेरो पति नेपाली कांग्रेसको जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँका सपना निकै ठूला र महत्वाकांक्षी थिए । सधैँ भन्ने गर्नुहुन्थ्यो— कर्णालीमा डलर बगेको छ, तर यहाँको डलरको मूल्य छैन । कर्णाली रोग, भोग, अशिक्षा अनि अभावको पर्याय बन्यो । सबैभन्दा कम औसत आयु भएको भनेर अनुसन्धान गर्ने थलो बन्यो । यो कर्णालीप्रतिको नजर र परिभाषा बदल्न सबैको एकता र प्रतिबद्धताको खाँचो छ।

उही दिन, उही समय, उही महिना चक्रझैँ घुमिफिरी आइदिँदा मलाई निकै पीडा अनुभव हुन्छ । उनको हँसिलो मुहार, फरासिलो बानीबेहोरा झलझल्ती सम्झन्छु । संकटकालका कठिन दिनमा कांग्रेसलाई हुर्काइराखेका थिए । २०७० सालको चुनावमा जुम्लाबाट प्रत्यक्षतर्फ संविधानसभा सदस्य जिताउने आधार उनले निर्माण गरेका हुन् । झन्डै २६ वर्षपछि जुम्लामा कांग्रेसले जित्यो, उनको त्याग, तपस्या र बलिदानीपूर्ण स्वभावको परिणाम थियो । गाउँबस्तीमा पुग्थे, सबै कार्यकर्ता, समर्थक, शुभचिन्तकको मन–मष्तिष्कमा बसेका छन्, अहिले पनि।

जिल्लालाई मात्रै नभई समग्र राष्ट्रको चिन्तन गर्ने धरोहर, होनहार युवा नेता, जसले स्वर्णिम कर्णालीको विकास निर्माणका लागि दूरदृष्टिका साथै चरणबद्ध योजना निर्माणका लागि अहोरात्र खटिरहन्थे । व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थका लागि दिलोज्यान दिन पछि हट्दैनथे । सरल स्वभाव, मृदुभाषी, मिलनसार दुःखीको दुःख र पीडा सहन गर्न नसक्ने, भाग्यलाई भन्दा कर्मलाई सर्वोपरि ठान्थे । बिपीको सिद्धान्तलाई अँगाल्दै प्रजातन्त्र र समाजवादलाई नै कांग्रेसको बलियो अस्त्र सम्झिन्थे । मेरो एक मात्र अभिभावक नभई जुम्लावासीकै कुशल अभिभावकका रूपमा गुमाएको त्यो फागुन चार गते घुमिफिरी आज पुनः आइपुगेको छ।

बाटो एक, कार्य अनेक भनेजस्तै उहाँले बाटो एक सिद्धान्त बिपीको अँगाले पनि सबैको आँखाको नानी थिए । अहिले गाउँबस्तीमा उनको कामको मूल्यांकन र प्रभाव कायमै छ । उनले सिकाएको राजनैतिक स्वभावकै कारण अहिले म चन्दननाथ नगरपालिकाको मेयर बन्न सफल भएकी छु।

जनसेवा नै सच्चा धर्म भन्ने सेजुवाल पार्टीलाई गाउँ बस्ती र देशसम्म जोड्ने सेतुका रूपमा व्याख्या गर्थे । काम गर्ने सवालमा सधैँ इमानदार, कर्तव्यनिष्ठ र जिम्मेवार बन्नुपर्ने पाठ सिकाएका छन् । विज्ञान विषयमा स्नातकोत्तर गरिसके तापनि उनले कुनै लाभको पद ग्रहण नगरी देश र जनताका लागि आवाज बुलन्द गर्दै आइरहेका थिए । तर नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा उनको निधन भएपछि उनका सपना अधुरै छन्।

उनको लगाव, देन र सिकाइका बाबजुद मैले पनि शिक्षक जस्तो गरिमामय पदबाट राजीनामा गरी जुम्लावासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीको अपार मायाले चन्दननाथ नगरपालिकाको मेयर बन्न सकेकी छु । मानवको सपनालाई साकार पार्न अग्रजहरूको सुझाव–सल्लाहबमोजिम काम गर्नेछु । स्वर्गीय मानव सेजुवालको संघीयतामा विकासको सपनालाई साकार पार्ने अवसर प्राप्त गरेको छु । जुनसुकै काम गर्दा पनि उनका सपनासँग मेल खाने र सर्वोपरि हित हुने खालका योजना निर्माणमा लाग्ने प्रतिज्ञा गरेकी छु । त्यो कालो दिन जसले पूर्णिमाको उज्यालोलाई खोसेर औँसीको रात दिलायो । त्यो दिन जुम्लावासी र नेपालका कुनै पनि नागरिकमा फर्केर नआऊन्, म यही कामना गर्छु ।

उहाँका सपनालाई साकार तुल्याउनेछु । उहाँको निष्कपट राजनैतिक जीवनलाई चिरफार गरी समाजको अगाडि छर्लंगै पार्नेछु । के नारीले पनि पुरुषजस्तै कार्य गर्न सक्दैनन् ? अवश्य सक्छन् । तर साथको खाँचो छ । मेरो भगवानजस्ता जीवनसाथीलाई हार्दिक श्रद्धाञ्जलि।

(मेयर, चन्दननाथ नगरपालिका)

तपाईको प्रतिक्रिया