महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहन भत्ता



जुम्ला ः कोरोना भाइरस अहिले फैलिदो अवस्थामा छ । यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि डेढ महिना देखि देश लकडाउनमा छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न अहिले स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका अग्र मोर्चामा छन् । सरकारले अग्र मोर्चामा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता देखि सुरक्षित स्वास्थ्य सामग्री व्यवस्थापन गर्न प्रथामिकता दिएको छ ।
सरकारले स्वास्थ्यकर्मीलाई सेवा सुविधामा प्रथामिकता दिए अनुसार चन्दननाथ नगरपालिकाले यहाँका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काम गरेबापत उनीहरुलाई प्रोत्साहन भत्ता रकम वितरण गरेको हो ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर रावलका अनुसार यस नगरपालिका भित्रका ९० जना महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन भत्ता रकम वितरण गरिएको हो । जनही १० हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको उनले बताए । यस रकमको २५ प्रतिशत करकट्टी गरिएको छ । महिला स्वास्थ्य स्वयम्सेविकाले कर कट्टी गरेर सात हजार पाँच सय रुपैया बुझेको उनको भनाइ छ ।
नगरप्रमुख कान्तिका सेजुवालले भनिन् “ अहिले स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयम्सेविका कोरोना भाइरसको जोखिममा छन् ।” उनीहरुलाई सरकारले उचित व्यवस्थापन गरेका छ । यसले स्वास्थ्यकर्मीको मनोबल बड्न काममा कटिबद्ध भएर खटिएका पनि छन् । उनीहरुको राज्यले उच्च सम्मान गर्नुपर्ने उनले बताइन् ।

तपाईको प्रतिक्रिया