जुम्लामा साढे १२ सय बढीको आरटी पिसिआर जाँच, रिपोर्ट नेगेटिभ



मानदत्त रावल, जुम्ला ः मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लकडाउन अवधिभर जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार मंगलबारसम्म जुम्लामा ११ हजार १७ जना नागरिक भित्रिए । जिल्लामा भित्रिएका नागरिक मध्ये एक हजार १ सय १५ जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेको तथ्यांक छ । क्वारेन्टाइनमा बसेका मध्ये १ हजार १ सय १ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । अहिले जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ५ सय २१ बेडको क्वारेन्टाइनमा १४ जना अझै क्वारेन्टाइनमा बसेका छन् । ५ सय १६ जना अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन् ।

यहाँ भित्रिएका नागरिक मध्येबाट एकैदिन ८ सय ४७ जनाको स्वाब संकलन गरी आरटी पिसिआर परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अस्पताल निर्देशक डा मंगल रावलले बताए । यसअघि प्रतिष्ठान जुम्लामा आरटी पिसिआर उपकरण संचालनमा ल्याएदेखि ७६ जनाको परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आएको थियो ।

यहाँ आरटी पिसिआर उपकरण सञ्चालन नहुदै अघि जुम्लाबाट स्वाब संकलन गरी सुर्खेत र काठमाडौँमा ३ सय ३९ जनाको आरटी पिसिआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आएको थियो ।

अहिलेसम्म जुम्लामा एक हजार २ सय ६२ जनाको स्वाब संकलन गरी आरटी पिसिआर परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनले भने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि जुम्लाले दुई महिना अघि देखि नै घनिभुत रुपमा काम गरिएले अहिले यसको नजिता सकारात्मक देखिएको हो ।

नेपालका धेरै जिल्लामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा देखा परेकोले हामीले अझै धैर्य गरेर लकडाउनको पालना गर्न आवश्यक रहेको छ । यहाँका हरेक नागरिक कोरोना भाइरसबाट बच्नका लागि सचेत हुन जरुरी छ । यहाँका नागरिकको अहिले कृषि मेलापात गर्ने समय हो । जिल्ला भित्र लकडाउन सामान्यतया खुकुलो जस्तो देखि पनि सिमा नाका भने लकडाउन कडाई गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

क्वारेन्टाइनबाट १४ दिन घर फर्केनेहरु मध्ये कोरोना जोखिम भएका जिल्ला र देशबाट आएका नागरिकलाई नमुनाको रुपमा ¥यापिट डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । उनले भने “किट अभावका कारण अन्य व्यक्तिहरु सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाएको हो ।”

यहाँ भित्रिएका मध्ये २ सय ६१ जनाको आडिटी कोरोना परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया